Sagun Khabar
रुपान्तरण सहजकर्ताले किशोरकिशोरी समूहमा कक्षा सञ्चालन गर्ने 

बैतडी –बैतडीमा रुपान्तरण सहजकर्ताहरुले किशोरकिशोरी समूहहरुमा कक्षा सञ्चालन गर्ने भएका छन् । जिल्लाको पाटन नगरपालिका वडा नं २ र ६ मा किशोरकिशोरी सहजकर्ताहरुले कक्षा सञ्चालन गर्ने भएका हुन् । 

परोपकार ग्रामीण विकास संघले गल्स फस्ट फण्डको सहयोगमा सञ्चालन गरिरहेको परियोजना अन्तर्गत दुईओटा वडामा रुपान्तरण कक्षा सञ्चालन हुने संघकी कार्यक्रम संयोजक कुन्ती भट्टले बताइन् । 

Atrya hospital

दुवै वडामा किशोरकिशोरीहरुका समूहमा रुपान्तरण कक्षा सञ्चालनका लागि १० जना सहजकर्ताहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम दिइएको भट्टले बताइन् । 

पाटनमा १३ दिनसम्म सञ्चालन गरिएको उक्त तालिम बिहीबार सम्पन्न भएको छ । तालिमपछि आफूहरुलाई धेरै कुराको जानकारी भएको र समूहमा गएर ती कुराहरुको जानकारी गराउने सहभागीहरुले बताएका छन् । 

बालविवाह न्यूनीकरणका लागि किशोरकिशोरी र उनका अभिभावकहरुलाई सक्रिय बनाउन रुपान्तरण सहजकर्ताहरुले पहल गर्नेछन् । समूहमा आफूहरुले बालविवाहले पार्ने असर र त्यसलाई रोक्नका लागि अपनाउन सकिने उपायका बारेमा छलफल गर्ने सहजकर्ता पवित्रा ऐरले बताइन् । 

१३ दिनसम्म किशोरकिशोरी सहजकर्ताहरुले रुपान्तरण कक्षा सञ्चालनको सीप सिकेकाले उनीहरुले समुदायमा हानिकार प्रचलन हटाउनका लागि पहल गर्ने परोपकार ग्रामीण विकास संघका अध्यक्ष लोकेन्द्रप्रसाद पन्तले बताए । 

किशोरकिशोरी सहजकर्ताहरुले समुदायमा रहेका विभिन्न विकृतिहरु हटाउनका लागि पहिलादेखि पहल गरिरहेको बताउँदै पाटन नगरपालिका–६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टले रुपान्तरण कक्षा बालविवाह न्यूनीकरणको क्षेत्रमा महत्वपूर्ण काम गरेको बताए । 
 

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update