Sagun Khabar
दशरथचन्द नगर भवन निर्माण कार्य अलपत्र, ठेकेदार बेपत्ता 

बैतडी – जिल्ला सदरमुकाम गढीमा निर्माण भईरहेको दशरथचन्द नगर भवन निर्माण कार्य अलपत्र परेको छ । भवन निर्माण कार्य अधुरै छोडेर पेटी ठेकेदार बेपत्ता भएपछि भवन निर्माण कार्य अलपत्र परेको हो । 

खाम्पाचे शेर्पा निर्माण सेवा कम्पनीले निर्माण गरिरहेको सो भवन निर्माणको जिम्मा दार्चुलाका निर्माण व्यवसायी धनबहादुर कुँवरले लिएका थिए । भवन निर्माणको काम अधुरै छोडेर कुँवर सम्पर्क विहिन भएका सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय डोटी अन्तर्गत फिल्ड कार्यालय बैतडीका सब–इन्जिनियर सुजन रेग्मीले बताए । 

Atrya hospital

पेटी ठेकेदार बेपत्ता भएपछि खाम्पाचे शेर्पा निर्माण सेवालाई खबर गरिसकेको र अबको केही दिन भित्रै फेरी भवन निर्माण कार्य शुरु हुने रेग्मीले बताए । 

२ करोड २३ लाखको लागतमा २०७६ असारमा भवन निर्माण गरिसक्ने गरेर निर्माण कम्पनीसंग सम्झौता भएको थियो २०७४ को पुसमा सम्झौता भएपनि अहिले सम्म निर्माणको काम पूरा हुन सकेको छैन् । निर्माण गरिएको काम समेत गुणस्तरीय नभएको पाइएको छ । 

दशरथचन्द नगर भवन निर्माणको काम अघि बढाउन ठेकेदारलाई बारम्बार सम्पर्कमा ल्याउन खोजिएपनि ठेकेदार सम्पर्क विहिन भएको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए । उनले भने ‘हामीले पनि निर्माणको काम अघि बढाउन धेरै पटक प्रयास गर्यौं । ठेकेदार नै सम्पर्कमा नआएपछि अहिले भवन निर्माणको काम अलपत्र परेको छ ।’

शुरुमा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले निर्माण कम्पनीसंग सम्झौता गरेको भएपनि संघीयता पछि सो कार्य सघन शहरी तथा भवन निर्माण आयोजना डोटीले हेर्दै आएको छ । 

कार्यालयले निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने लगायत अन्य कानुनी प्रक्रिया शुरु गर्ने भनेर निर्माण कम्पनीलाई पत्राचार गरेपछि अहिले एकजना प्रतिनिधि आएका र काम अघि बढाउने कुरा भईरहेको सव इन्जिनियर रेग्मीले बताए । 

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update