बैतडी-अछामको ढकारी गाउँपालिका–१ को छिन्ने जंगलमा मृत भेटिएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको खुलेको छ। गत शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर भोलिपल्ट छिन्ने जंगलमा मृत भेटिएकी ढकारी गाउँपालिका–८ पल्साताकी दुबै किशोरीको ढुंगा प्रहारबाट हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ। जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले गरेको अनुसन्धानमा यो तथ्य बाहिर आएको हो। हत्या गरेको अभियोगमा ढकारी गाउँपालिका–३ तालीका दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ।
टेलिफोनबाट प्रेम, पहिलो भेटमै हत्या
दुबै किशोरीको हत्याको प्रमुख कारण प्रेम सम्बन्ध भएको अनुसन्धानबाट खुलेको छ। मृतक इशरा खड्का र पक्राउ परेका मध्येका बुढा थरका एक किशोरबीच लामो समयदेखि टेलिफोनमा कुराकानी हुँदै आएको थियो। उनीहरूको संवादले प्रेम सम्बन्धमा परिणत भए पनि प्रत्यक्ष भेटघाट हुन सकेको थिएन। ढकारी गाउँपालिका–३ ताली र किशोरीहरूको गाउँ ढकारी गाउँपालिका–८ पल्साता भौगोलिक रूपमा टाढा भएकाले उनीहरूको भेट हुन सकेको थिएन।
माघ महिनामा अछाममा विवाहित छोरीबेटीलाई माइती पक्षले कोशेली दिने परम्परा छ। यही अवसरमा बिहीबार तालीबाट आएका दुई किशोर कोशेली लिएर फूपुको घरमा पुगे। फूपुको घर आएको मौका पारेर किशोरीसँग भेट्ने योजना बनाए। टेलिफोन संवादपछि गोठालो गएका बेला छिन्ने जंगलमा भेट्ने सहमति भयो।
यौन प्रस्ताव अस्वीकार गर्दा हत्या
इशरासँग टेलिफोनमा निरन्तर सम्पर्कमा रहेका राजेश बुढा ९नाम परिवर्तन० ले चुन्नी साट्ने क्रममा इशरासँग प्रेम सम्बन्धबारे कुराकानी गरे। सोही बेला अर्का किशोर दिपेशले सरस्वतीलाई प्रेम प्रस्ताव राख्दै विवाहको आश्वासनसहित चुन्नी साट्न आग्रह गरे। तर, सरस्वतीले उनको प्रस्ताव अस्वीकार गरिन्। प्रहरीलाई दिपेशले दिएको बयानअनुसार, उनले सरस्वतीसँग जबरजस्ती यौन सम्पर्क गर्न खोजेका थिए। जब सरस्वतीले प्रतिवाद गरिन्, तब आवेशमा आएका दिपेशले ढुंगा प्रहार गरी उनको हत्या गरे। घटना लुकाउन शव भएको स्थानतर्फ ठूलो ढुंगा खसालिएको प्रहरीको अनुसन्धानले देखाएको छ।
इशराको पनि वीभत्स हत्या
ढुंगा खसालेको आवाज सुनेर इशरा र राजेश घटनास्थलमा पुगे। सरस्वतीको क्षतविक्षत शव देखेपछि इशराले गाउँमा खबर गर्ने धम्की दिइन्। घटनाको रहस्य बाहिर आउन नदिन राजेश र दिपेशले इशराको पनि हत्या गर्ने योजना बनाए। आक्रोशित राजेशले इशरालाई ढुंगाले हानेर हत्या गरे। दुवै किशोरीको हत्या योजनाबद्ध रूपमा भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
घटना लुकाउन ढुंगा खसालियो
हत्या पछि घटनालाई भवितव्य देखाउन किशोरहरूले शव रहेको स्थानमा माथिबाट धेरै ढुंगा खसाले। घटनास्थल वरपर तीन जना किशोरले ढुंगा खसालिरहेको प्रत्यक्षदर्शीको बयानका आधारमा प्रहरीले अनुसन्धानलाई तीव्र बनायो।
त्यस दिन घटनास्थल वरपर देखिएका व्यक्तिहरूमाथि सोधपुछ गर्दा पक्राउ परेका किशोरहरूलाई नियन्त्रणमा लिइयो। गाउँबाट भाग्ने योजनामा रहेका उनीहरूलाई प्रहरीले आइतबार राति पक्राउ गर्यो। पक्राउ परेकामध्ये १० वर्षीय एक नाबालक अनुसन्धानमा सहयोगी देखिएकाले उनलाई सरकारी साक्षी बनाइएको छ। अन्य दुई किशोरविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।