Sagun Khabar
नेपालमा बढ्दो महिला हिंसाः कानुनी कमजोरी र सामाजिक असमानताको चक्रव्यूह

बैतडी–सुरेश अवस्थी– नेपाल ऐतिहासिक रूपमा शान्तिपूर्ण, सहिष्णु र सामाजिक सद्भावले भरिपूर्ण मुलुक मानिन्छ । तर पछिल्ला वर्षहरूमा समाजमा बढ्दै गइरहेको हिंसा, विशेषतः महिलामाथिको हिंसा, बलात्कार र हत्या जस्ता घटनाहरूले नेपाली समाजलाई गहिरो रुपमा सोच्न बाध्य बनाएको छ । किशोरीहरू निर्मला पन्त, भागरथि भट्ट, सरस्वती खड्का, १४ वर्षीया इशरा खड्का तथा अछामको पञ्चदेवल विनायक नगरपालिका–२ की १६ वर्षीया किशोरीको विभत्स हत्या लगायतको बिषयले प्रष्ट पार्छ कि हाम्रो समाजमा अमानवीयता र क्रूरता बढ्दै गएको छ ।

यस प्रकारका जघन्य अपराधहरू केवल कुनै एक वर्ग वा क्षेत्रको मात्र समस्या होइन, यो सम्पूर्ण समाजको समस्या हो । कानुनी प्रणालीको कमजोरी, समाजमा व्याप्त लैंगिक असमानता, दोषीलाई उन्मुक्ति दिने प्रवृत्ति तथा कमजोर न्यायिक संरचनाहरूले अपराधीहरूलाई हौसला प्रदान गरिरहेका छन् । यी घटनाहरूको गहिरो विश्लेषण आवश्यक छ ताकि समाजमा पुनः मानवीयता, सुरक्षित वातावरण र न्यायको प्रत्याभूति गर्न सकियोस् । 

नेपालमा विगत केही वर्षदेखि अपराधको प्रकृति झन् क्रूरतापूर्ण बन्दै गएको देखिन्छ । समाजमा हिंसात्मक प्रवृत्ति किन बढ्दै गइरहेको छ ? यसको पछाडि अनेकौं कारणहरू हुन सक्छन् । तीमध्ये प्रमुख कारणहरू निम्न छन् । 

Atrya hospital

अधिकांश हिंसाका घटनाहरूमा दोषीहरू कानुनी दायरामा आउँदैनन् वा प्रमाण अभावका कारण सजायबाट बच्छन् । निर्मला पन्तको घटनामा देखिएको जस्तो अनुसन्धानमा कमजोरीले अपराधीलाई सजाय दिन नसक्नु समाजमा हिंसा बढ्नुको प्रमुख कारण हो ।

समाजमा नैतिक शिक्षाको अभाव तथा पारिवारिक संरचना कमजोर हुँदै जानुले युवा पुस्तालाई आपराधिक गतिविधिमा संलग्न गराइरहेको छ । नेपालमा महिलामाथि हुने हिंसालाई प्रायः ‘सामान्य’ रूपमा लिइन्छ । पीडितले न्यायको अपेक्षा गर्दा उल्टै उनीहरूलाई अपमानित गरिन्छ । भागरथि भट्ट तथा अन्य किशोरीहरूको घटनामा देखिएको प्रहरीको उदासीनता यसको उदाहरण हो ।

सामाजिक सञ्जालमा हिंसाका दृश्यहरू सहज रूपमा उपलब्ध हुनु, अश्लील सामग्रीको व्यापकता र गलत सूचना फैलिनुले समेत अपराधी प्रवृत्तिलाई बढावा दिइरहेको छ ।

निर्मला पन्त हत्या प्रकरणः न्याय अझै अधुरो

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या २०७५ सालमा भयो । अनुसन्धानको नाममा प्रहरीले प्रमाण मेट्न खोजेको, निर्दोष व्यक्तिलाई बलिको बोका बनाइएको र वास्तविक दोषी अझै पत्ता नलागेको तथ्यहरूले न्याय प्रणाली प्रति गहिरो प्रश्न खडा गरेका छन् ।

निर्मलाको घटनापछि देशभर प्रदर्शन भए पनि राज्य संयन्त्र अझै मौन छ । यसले समाजमा द्विविधा सिर्जना गरेको छ कि के बलियोसँग सम्बन्ध भएका अपराधीहरूलाई सजाय दिन सम्भव छैन?

भागरथि भट्ट हत्या प्रकरणः अपराधीलाई संरक्षण?

२०७७ सालमा भएको बैतडीकी भागरथि भट्टको हत्या पनि निर्मलाको घटनासँग मिल्दोजुल्दो थियो । प्रहरी अनुसन्धानमा कमजोरी देखियो, समाजमा अन्याय र लापरवाही झल्कियो । भागरथीको न्यायका लागि आवाज उठाइए पनि अझै समाजले सन्तोषजनक जवाफ पाएको छैन ।

अनुसन्धानका क्रममा मिडिया वा सरकारको ध्यानबाट छिट्टै हराउने गर्छन् । न्याय नपाएपछि परिवारहरू निराश हुन्छन्, समाजमा आक्रोश बढ्छ ।
अहिलेको ज्वलन्त उदाहरणः अछामको घटना

अछामको ढकारी गाउँपालिका–१ को छिन्ने जंगलमा मृत भेटिएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको खुलेको छ । गत शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर भोलिपल्ट छिन्ने जंगलमा मृत भेटिएकी ढकारी गाउँपालिका–८ पल्साताकी दुबै किशोरीको ढुंगा प्रहारबाट हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ । जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले गरेको अनुसन्धानमा यो तथ्य बाहिर आएको हो । हत्या गरेको अभियोगमा ढकारी गाउँपालिका–३ तालीका दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

टेलिफोनबाट प्रेम, पहिलो भेटमै हत्या

दुबै किशोरीको हत्याको प्रमुख कारण प्रेम सम्बन्ध भएको अनुसन्धानबाट खुलेको छ । मृतक इशरा खड्का र पक्राउ परेका मध्येका बुढा थरका एक किशोरबीच लामो समयदेखि टेलिफोनमा कुराकानी हुँदै आएको थियो । उनीहरूको संवाद प्रेम सम्बन्धमा परिणत भए पनि प्रत्यक्ष भेटघाट हुन सकेको थिएन । माघ महिनामा अछाममा विवाहित छोरीबेटीलाई माइती पक्षले कोशेली दिने परम्परा छ । यही अवसरमा बिहीबार तालीबाट आएका दुई किशोर कोशेली लिएर फूपुको घरमा पुगे । फूपुको घर आएको मौका पारेर किशोरीसँग भेट्ने योजना बनाए ।

यौन प्रस्ताव अस्वीकार गर्दा हत्या

इशरासँग टेलिफोनमा निरन्तर सम्पर्कमा रहेका राजेश बुढा (नाम परिवर्तन) ले चुन्नी साट्ने क्रममा इशरासँग प्रेम सम्बन्धबारे कुराकानी गरे । सोही बेला अर्का किशोर दिपेशले सरस्वतीलाई प्रेम प्रस्ताव राख्दै विवाहको आश्वासनसहित चुन्नी साट्न आग्रह गरे । तर, सरस्वतीले उनको प्रस्ताव अस्वीकार गरिन् । प्रहरीलाई दिपेशले दिएको बयानअनुसार, उनले सरस्वतीसँग जबरजस्ती यौन सम्पर्क गर्न खोजेका थिए । जब सरस्वतीले प्रतिवाद गरिन्, तब आवेशमा आएका दिपेशले ढुंगा प्रहार गरी उनको हत्या गरे ।

समाजमा सुधारका लागि के गर्न सकिन्छ?

कडा कानुनी संरचना र कार्यान्वयनः अपराधीहरूलाई तत्काल कानुनी कठघरामा उभ्याउन सक्ने प्रणाली आवश्यक छ । अनुसन्धान प्रक्रियामा पारदर्शिता हुन जरुरी छ । अपराधको सही ढंगले छानबिन हुनुपर्छ । समाजमा नैतिक शिक्षा, लैंगिक समानता, तथा हिंसाविरुद्धका कार्यक्रमहरू अनिवार्य गर्नुपर्छ । मिडियाले पीडितको न्यायका लागि निरन्तर खबरदारी गर्नुपर्ने हुन्छ । 

नेपालमा किशोरी तथा महिलामाथि बढ्दै गइरहेको हिंसा चिन्ताजनक छ । न्याय प्रणालीको कमजोरी, समाजमा रहेको लैंगिक असमानता, दोषीहरूलाई संरक्षण दिने प्रवृत्ति तथा अपराधीलाई कारबाही गर्न नसक्दा समाजमा क्रूरता बढ्दै गएको छ ।

यदि आज हामीले यी घटनालाई गम्भीर रूपमा लिएर आवश्यक सुधारका कदमहरू नचाल्ने हो भने, भविष्यमा अझै भयावह अवस्थासँग जुध्नुपर्नेछ । अतः न्यायप्राप्ति, अपराध न्यूनीकरण तथा सुरक्षित समाज निर्माणका लागि समाजका सबै पक्षहरूको सक्रिय सहभागिता अनिवार्य छ ।

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update