Sagun Khabar
कञ्चनपुरमा अच्युत कलौनीको रहस्यमय मृत्यु, हत्याको आशंका

बैतडी–कञ्चनपुरमा मृत अवस्थामा फेला परेका नेपाली काँग्रेस भीमदत्त नगर सभापति अच्युत कलौनीका बुवाले छोराको हत्या गरिएको हुनसक्ने आशंका गरेका छन्। मृतकका बुवा जनकराज कलौनीले छोराको हत्या गरेर फालिएको हुनसक्ने दाबी गर्दै गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन्।

शनिबार महेन्द्रनगर पुगेका गृहमन्त्री लेखकसँगको भेटमा उनले छोराको मृत्यु रहस्यमय देखिएकाले गहिरो अनुसन्धान आवश्यक रहेको बताए। उनले भने, ‘घटना कतै भएर फालेको हो कि भन्ने शंका छ। नाम तोक्ने अवस्था छैन, तर राति ३ बजे हिँडेर आएको छ, कसैले बोलाएको हो कि?’

Atrya hospital

जनकराज कलौनीले शव फेला परेको स्थान लामो समयदेखि बाँझो रहेको तथा त्यस क्षेत्रबारे राम्रो जानकारी भएकाले कसैले हत्या गरेर त्यहाँ फालेको हुनसक्ने बताए। साथै, घटनास्थलमा शीत भए पनि छोराको शरीरमा शीत नदेखिनु र उनका प्रयोग गर्ने मोबाइल फोन नभेटिनुले थप शंका उत्पन्न गराएको उनले उल्लेख गरे।

अच्युत कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका–१८ को वडा कार्यालय नजिकै मामाभान्जा चोकस्थित सडक पेटीमा मृत अवस्थामा फेला परेका थिए। उनको शव हाल महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। पोस्टमार्टम भोलि गरिने तयारी गरिएको छ, जसका लागि भेरी अस्पताल, नेपालगञ्जबाट फरेन्सिक विज्ञ महेन्द्रनगर पुगेका छन्।

यस घटनाबारे सूक्ष्म अनुसन्धान थालिएको प्रहरी प्रशासनले जनाएको छ। हराइरहेको मोबाइल फोनको खोजी जारी रहेको छ भने घटनास्थल तथा आसपासका सीसीटीभी फुटेज अध्ययन गरिंदैछ।

प्रहरीका अनुसार मृतकको शरीरमा कुनै चोटपटक देखिएको छैन। उनी हिजोमात्र धनगढीबाट फर्किएका थिए र राति घर फर्किने क्रममा बिहान मृत अवस्थामा फेला परेका थिए। घटनाको सत्यतथ्य पत्ता लगाउन गहिरो अनुसन्धान आवश्यक रहेको भन्दै परिवारजनले निष्पक्ष छानबिनको माग गरेका छन्।

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update