बैतडी–सुरेश अवस्थी–दशरथचन्द नगरपालिकाका मेयर पुष्कर राज जोशी (लख्खा भाई) ले खेल, शिक्षा र स्वास्थ्य क्षेत्रलाई नगरपालिका विकासको प्रमुख आधार बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार दशरथचन्द नगरपालिकाको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन समारोहमा बोल्दै मेयर जोशीले नगरभित्रका विद्यालयहरूलाई शिक्षामैत्री, खेलमैत्री र संगीतमैत्री बनाउन निरन्तर लागिरहने बताए ।
दशरथचन्द नगरपालिका–२, दिहीमाण्डौँको खेलमैदानमा आयोजित समापन कार्यक्रममा मेयर जोशीले खेलकुद गतिविधिहरूले विद्यार्थीको मानसिक र शारीरिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । उनले भने, “खेल केवल मनोरञ्जन मात्र होइन, यो अनुशासन, स्वास्थ्य र नेतृत्व विकासको आधार पनि हो । नगरपालिकाले आगामी दिनमा खेल पूर्वाधारको विकासमा थप लगानी गर्नेछ ।“
उनको नेतृत्वमा दिहीमाण्डौँ खेलमैदानलाई पूर्वाधार विकासमा सुधार गर्दै थप व्यवस्थित बनाइएको बताउँदै, अझ बढी बजेट विनियोजन गरी खेल क्षेत्रको विकासलाई तीव्रता दिने बताए ।
शिक्षाको क्षेत्रमा पनि दशरथचन्द नगरपालिकाले सुधारका कार्यक्रम अघि बढाइरहेको जनाउँदै मेयर जोशीले नगरका विद्यालयहरूमा गुणस्तरीय शिक्षा, पर्याप्त स्रोतसाधन तथा प्रविधियुक्त शिक्षाको विस्तार गर्न आफू प्रतिवद्ध रहेको बताए ।
मेयर जोशीले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सुविधा प्रदान गर्ने आफ्नो योजनाबारे पनि उल्लेख गरे। “स्वास्थ्य, शिक्षा र खेल एकअर्कासँग प्रत्यक्ष सम्बन्धित छन् । यदि विद्यार्थी स्वस्थ छैनन् भने तिनको शिक्षा प्रभावित हुन्छ, यदि खेलकुदलाई प्राथमिकता दिइएन भने स्वस्थ जीवनशैलीको अभाव हुन्छ । त्यसैले, नगरपालिकाले स्वास्थ्य क्षेत्रमा पनि विशेष ध्यान दिनेछ,“ उनले भने ।
जनताको समस्या बुझेर राजनीतिमा आएको दाबी
राजनीति केवल पद प्राप्तिको साधन नभई जनताको समस्या समाधान गर्ने माध्यम हुनुपर्ने धारणा राख्दै मेयर जोशीले भने, “म राजनीतिमा जनताको समस्या बुझेर आएको हुँ । जनताका आवश्यकता पहिचान गरेर, योजनाबद्ध रूपमा काम गरेर दशरथचन्द नगरपालिकालाई समृद्ध बनाउन मैले कुनै कसर बाँकी राख्दिनँ ।“
उनले नगरपालिकाका प्रत्येक नागरिकको जीवनस्तर सुधार्न शिक्षा, खेल, र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन योजनाका साथ अघि बढ्ने स्पष्ट पारे ।दशरथचन्द नगरपालिकाले शिक्षा, खेलकुद र स्वास्थ्य क्षेत्रमा लगानी गर्दै नगरलाई नमुना बनाउन चाहन्छ । मेयर जोशी (लख्खा भाई) को नेतृत्वमा नगरपालिकाले विद्यालय सुधार, खेलकुद पूर्वाधार निर्माण, र स्वास्थ्य सेवाको स्तरोन्नति गर्दै जनताको जीवनस्तर उकास्ने लक्ष्य लिएको छ ।