Sagun Khabar
दोगडाकेदार १० शय्याको अस्पतालः चक्र कार्किको दृढ नेतृत्वमा ऐतिहासिक प्रगति

बैतडी– सुरेश अवस्थी–बैतडीको दोगडाकेदार गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल भवन निर्माण कार्य ९० प्रतिशत पूरा भएको छ । जिल्लाका अन्य ९ स्थानीय तहका निर्माणाधिन अस्पतालको कार्य अलपत्र परेकोबेला दोगडाकेदारमा भने यो महत्त्वपूर्ण परियोजना अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले अस्पताल निर्माणको उत्साहजनक प्रगति र आगामी योजनाबारे जानकारी दिएका थिए । 

दोगडाकेदारको स्वास्थ्य सेवामा यस ऐतिहासिक प्रगतिको श्रेय पालिका अध्यक्ष चक्र कार्किको दृढ नेतृत्व र गाउँपालिकाका कर्मचारीहरूको इमान्दार प्रयासलाई दिइएको छ । स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले भनें, “अध्यक्ष कार्किको सक्रियता र पालिकाको समर्पित टोलीको सहयोगले गर्दा दोगडाकेदारमा काम सहज र सकारात्मक वातावरणमा भइरहेको छ । यहाँका नागरिकलाई स्वास्थ्य सेवा समयमा र प्रभावकारी रूपमा उपलब्ध गराइरहेका छौं ।“

स्वास्थ्य र जनसंख्या मन्त्रालयबाट १० शय्याको अस्पताल निर्माणको लागि आवश्यक बजेट र कार्यक्रम प्राप्त भए अनुसार २०७८ सालको जेठ ३मा अस्पताल निर्माणको ठेक्का सम्झौता भएको थियो । अब यो कार्य अन्तिम चरणमा पुगेको छ । यस वर्षको अन्तिमसम्म यसलाई पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको स्वास्थ्य शाखा प्रमुख नाथले बताए ।

Atrya hospital

अस्पताल निर्माणको कुल लागत अनुमानित रु १४ करोड ६८ लाख २९ हजार ६ सय ६५ रहेको र ठेक्का सम्झौतामा ८ करोड ५१ लाख ४६ हजार ७ सय ३० रुपैयाँ तोकिएको थियो । हालसम्म ७ करोड ८८ लाख ७२ हजार ५ सय १७ रकम निकासा भइसकेको छ भने ७ करोड ५१ लाख ९२ हजार ६ सय १७ खर्च गरिएको छ । २ करोड २२ लाख ४८ हजार ९ सय ६८ रकमको अतिरिक्त माग गरिएको छ ।
आधुनिक स्वास्थ्य उपकरणको आपूर्तिका लागि पहल

यसका साथै, दोगडाकेदार अस्पतालका लागि अत्याधुनिक स्वास्थ्य उपकरणहरूको माग गरिएको छ । अस्पतालको संचालन र सुविधाका लागि डिजिटल एक्स–रे मेसिन (५०० एम ए), यु.एस.जी. मेसिन (कलर डोप्टर), सी.बी.सी. मेसिन, एनालाइजर, र माइक्रोस्कोप (सी एक्स ३३ कोलम्पस) जस्ता अत्यावश्यक उपकरणहरूको सूची तयार गरेर स्वास्थ्य सेवा विभागलाई पत्राचार गरिएको छ । यी उपकरणहरूको उपलब्धतिले अस्पतालमा उपचारको गुणस्तर र पहुँचमा क्रान्तिकारी सुधार ल्याउने अपेक्षा गरिएको छ ।

कार्यमा पारदर्शिता र नेतृत्वको प्रतिबद्धता

दोगडाकेदार अस्पताल निर्माण परियोजना केवल एक भवनको निर्माण मात्र होइन, यो स्थानीय सरकारको जिम्मेवारी र पारदर्शिता प्रदर्शनको एउटा उदाहरण हो । पालिका अध्यक्ष चक्र कार्किको नेतृत्वमा, दोगडाकेदार गाउँपालिका केवल अस्पताल निर्माणमै मात्र सीमित छैन,  सम्पूर्ण स्वास्थ्य सेवा प्रणालीमा सुधार र गुणस्तरीयता ल्याउने प्रतिबद्धतासमेत देखाएको छ ।

अध्यक्ष कार्किका अनुसार, “स्वास्थ्य सेवा हाम्रो पहिलो प्राथमिकता हो । प्रत्येक नागरिकलाई सस्तो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हाम्रो लक्ष्य हो । यो कार्यको सफलता मात्र हाम्रो प्रतिबद्धताको प्रमाण हो, र हामी आगामी दिनहरूमा अझ धेरै सुधार र सुविधा ल्याउन दृढ छौं ।“

दोगडाकेदारको १० शय्याको अस्पताल भवन निर्माणमा आएको यति सकारात्मक प्रगति र परिश्रमले केवल स्वास्थ्य सेवामा नभइ यो स्थानीय नेतृत्व र जनताको साझेदारीको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दछ । स्थानीय सरकारको जिम्मेवारी र समर्पणले नागरिकलाई दीर्घकालीन लाभ दिने निश्चित छ ।
 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update