बैतडी–बैतडीको कुलाउ माध्यमिक विद्यालयले आफ्नो ७८औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। उक्त अवसरमा विद्यालयको उन्नति र समर्पित सेवा प्रदान गर्ने दुईजना पूर्व शिक्षकलाई सम्मान गरिएको छ।
सम्मानित हुने शिक्षकहरूमा विद्यालय स्थापनाकालदेखि आफ्नो सेवानिवृत्तिसम्म निरन्तर योगदान पुर्याएका रामदत्त तिवारी र ज्ञानसिंह घटाल रहेका छन्। त्यसैगरी, लामो समयसम्म प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै केही महिना अघि मात्र सेवानिवृत्त भएका मोतीसिंह मङ्गोलालाई विशेष सम्मानसहित बिदाइ गरिएको छ।
विद्यालयका प्रधानाध्यापक धनबिर राम सार्कीले विद्यालयको आर्थिक तथा भौतिक अवस्था सन्तोषजनक रहेको जानकारी गराउँदै शैक्षिक गुणस्तर पनि उत्कृष्ट रहेको उल्लेख गरे।
कार्यक्रमका विशिष्ट अतिथि तथा माओवादी केन्द्रका जिल्ला समिति सचिव रमेश चन्दले सरकारको प्राथमिकता शिक्षाको गुणस्तर सुधारमा भन्दा अन्यत्र केन्द्रित भइरहेको भन्दै यस विषयमा ध्यान दिन आवश्यक रहेको सुझाव दिए। त्यसैगरी, नेकपा ९एमाले० गाउँ कमिटी अध्यक्ष कालु जोशीले कुलाउ माध्यमिक विद्यालयलाई जिल्लाकै अग्रणी शैक्षिक संस्था बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए।
पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले पछिल्लो समयमा विद्यालयमा विद्यार्थीहरूको अनुशासन कमजोर देखिएकाले गुणस्तरीय शिक्षाका लागि कडाइका साथ अनुशासन पालना गराउनुपर्ने सुझाव दिइन्।
कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले विद्यालय विगतमा जिल्लाकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एक रहेको स्मरण गराउँदै आगामी दिनहरूमा पनि यही स्तर कायम राख्न सबैलाई अनुरोध गरे।
यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनुका साथै विद्यालयको भावी योजनाहरूबारे समेत जानकारी गराइएको थियो।