Sagun Khabar
बैतडीमा स्वास्थ्यकर्मी सात महिनादेखि तलबबिहीन

बैतडी-बैतडीका दुई गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरू सात महिनादेखि तलब नपाएर आर्थिक समस्यामा परेका छन्। डिलासैनी गाउँपालिका र सिगास गाउँपालिकाका स्वास्थ्यकर्मीहरूले मन्त्रालयबाट बजेट निकासा हुन ढिलाइ हुँदा पारिश्रमिक पाउन नसकेको गुनासो गरेका छन्।

स्वास्थ्य कार्यालय बैतडीद्वारा आयोजित अन्तरपालिका बैठकमा डिलासैनी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पुरुषोत्तम नाथले नियमित तलब नपाउँदा स्वास्थ्यकर्मीहरूको दैनिकी नै संकटमा परेको बताए।  

Atrya hospital

यस्तै, सिगास गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक वीरेन्द्र क्षेत्रीले गत वर्ष पनि असार महिनासम्म तलब नआएको उल्लेख गर्दै चालु आर्थिक वर्षमा माघसम्म पनि पारिश्रमिक नपाएको बताए।

बैठकमा प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले स्वास्थ्य क्षेत्र संवेदनशील भएकाले सबै तहबाट आवश्यक पहल गर्नुपर्ने बताए। जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्रसिंह धामीले स्वास्थ्यकर्मीहरूको पारिश्रमिक सम्बन्धी समस्या समाधान गर्न मन्त्रालयसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।

स्वास्थ्य क्षेत्रमा कर्मचारी अभाव, सेवामा चुनौती

बैठकमा सहभागी अधिकांश स्वास्थ्य शाखा प्रमुखहरूले कर्मचारी अभावको समस्या उठाएका छन्। शिवनाथ गाउँपालिकामा तालिमप्राप्त दक्ष स्वास्थ्यकर्मीको अभाव रहेको बताइएको छ।

यस्तै, गुणस्तरीय सडक तथा एम्बुलेन्स सेवाको अभावकै कारण चालु आर्थिक वर्षको साउनदेखि माघसम्म सिगास र पञ्चेश्वर गाउँपालिकामा दुई गर्भवती महिलाको मृत्यु भएको छ भने नवजात शिशु मृत्यु दरसमेत बढेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए।

हाल बैतडीमा १० वटा स्थानीय तहका ८४ वडामा आधारभूत स्वास्थ्य चौकी, २ वटा प्राथमिक स्वास्थ्य केन्द्र, १ जिल्ला अस्पताल, ३०५ गाउँघर क्लिनिक र ३२४ खोप क्लिनिक रहेका छन्। तर, आवश्यक जनशक्ति अभावका कारण सेवा प्रभावकारी बन्न नसकेको सरोकारवालाहरूले बताएका छन्।

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  ०९:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update