Sagun Khabar
बैतडीको खोड्पेमा ट्रमा सेन्टर ५ वर्षदेखि अलपत्रः सञ्चालनको अन्योलले स्वास्थ्य सेवा प्रभावित

बैतडी–सुरेश अवस्थी–बैतडीको पाटन नगरपालिका–८ मा रहेको ट्रमा सेन्टर आवश्यक उपकरण र जनशक्तिको अभावका कारण पाँच वर्षदेखि सञ्चालनमा आउन सकेको छैन। 

दार्चुला, बैतडी, र बझाङका लागि केन्द्र मानिएको खोड्पेमा सडक दुर्घटना तथा अन्य विपद्का घाइतेहरूको आकस्मिक उपचारका लागि ट्रमा सेन्टर निर्माण गरिएको थियो। संघीय सरकारको ५० लाख र नगरपालिकाको १० लाख गरी कुल ६० लाख रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भए पनि आवश्यक चिकित्सा उपकरण तथा दक्ष जनशक्ति नहुँदा सेवा सञ्चालन अन्योलमा परेको छ।

Atrya hospital

५ वर्षअघि निर्माण सम्पन्न भए पनि ट्रमा सेन्टर कसले सञ्चालन गर्ने भन्ने विषयमा स्पष्ट व्यवस्था नहुँदा समस्या उत्पन्न भएको बताइन्छ। स्वास्थ्य कार्यालय बैतडीद्वारा आयोजित अन्तरपालिका बैठकमा पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले ट्रामा सेन्टर सञ्चालनमा नरहेको र   सञ्चालनमा नआउनु दुःखद भएको बताएका थिए ।

स्थानीय बासिन्दा तथा पाटन नगरपालिका–८ र सिद्धेश्वर स्वास्थ्यचौकीका प्रतिनिधिहरूले बैतडीमा ट्रमा सेन्टर सञ्चालनको माग गर्दै गत असोज महिनामा मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्र समेत बुझाएका थिए। तर, सरकारबाट कुनै ठोस निर्णय नआएको गुनासो छ।

ट्रमा सेन्टर सञ्चालनका लागि आवश्यक उपकरण तथा चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्था तत्काल गरिनुपर्ने स्थानीयको माग छ। प्रदेश सरकार र संघीय सरकारले शीघ्र पहल नगरेमा स्वास्थ्य सेवाबाट बञ्चित हुने नागरिकहरूको पीडा थपिने देखिन्छ। स्थानीय तहको पहल तथा सरोकारवालाबीच समन्वय गरी ट्रमा सेन्टरलाई शीघ्र सञ्चालन गर्न आवश्यक रहेको छ।

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update