![बैतडीको दनपामा कक्षा ५ र ८ को पालिकास्तरीय परीक्षा सञ्चालन हुने : तालिका सार्वजनिक](https://www.sagunkhabar.com/uploads/posts/DCM-Exam-1738825656.jpg)
बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाले यो बर्षदेखि कक्षा ५ को पनि पालिकास्तरीय परीक्षा सञ्चालन गर्ने भएको छ । यसअघि कक्षा ८ को मात्रै पालिकास्तरीय परीक्षा सञ्चालन गर्दै आएको नगरपालिकाले आधारभूत तह कक्षा ५ र ८ को पालिकास्तरीय परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि कक्षा ५ र ८ को पालिकास्तरीय परीक्षा सञ्चालन गर्ने निर्णय गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले जानकारी दिए । यसअघि कक्षा ८को मात्रै पालिकास्तरीय बोर्ड परीक्षा सञ्चालन गर्ने गरेको नगरपालिकाले यो बर्षदेखि कक्षा ५ को पनि पालिकास्तरीय परीक्षा सञ्चालन गर्न लागेको हो ।
कक्षा ८ को पालिकास्तरीय परीक्षा सञ्चालन गर्दा शैक्षिक गुणस्तरमा केही सुधार आएकाले कक्षा ५ को पनि पालिकास्तरीय परीक्षा सञ्चालन गर्ने निर्णयमा पुगिएको शिक्षा प्रमुख भट्टले जानकारी दिए ।
कक्षा ५ का लागि सम्बन्धित विद्यालयलाई नै परीक्षा केन्द्र तोकिएको छ भने कक्षा ८ का १५ ओटा केन्द्र निर्धारण भएका छन् । कक्षा ८ का विद्यार्थीहरुले आफूले पढीरहेको भन्दा अर्को विद्यालयको केन्द्रमा गएर परीक्षा दिनुपर्ने भट्टले बताए ।
दशरथचन्द नगरपालिकाले कक्षा ५ र ८ को परीक्षा आगामी फागुन २५ देखि चैत ५ गतेसम्म सञ्चालन गर्ने गरी परीक्षा तालिका समेत सार्वजनिक गरेको छ ।
दशरथचन्द नगरपालिकाभित्र ५२ ओटा सामुदायिक र १० ओटा संस्थागत गरेर ६२ ओटा विद्यालय सञ्चालनमा रहेका छन् ।