
डडेल्धुरा –नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट बीओपीको निरीक्षण भ्रमण गरेका छन् ।
उनले नेपाल–भारत सीमामा रहेको डडेल्धुराको परशुराम नगरपालिका–५, परीगाउँस्थित बीओपीको निरीक्षण भ्रमण गरेका हुन् ।
निरीक्षण क्रममा पूर्व मन्त्री पुनले सीमित साधन स्रोतमा पनि सशस्त्र प्रहरीले सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रणमा प्रशंसनीय काम गरेको बताए । उनले सशस्त्र प्रहरीलाई थप साधन स्रोतसम्पन्न बनाउन आफ्नो तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता जनाए ।
परीगाउँ सीमा क्षेत्रबाट नेपाली नागरिक महाकाली नदीमा डुंगा चढेर सीमावर्ती भारतीय बजार टनकपुरमा दैनिकजसो उपभोग्य सामान खरिद, औषधि उपचार तथा रोजगारीका लागि जाने गर्दछन् ।
डडेल्धुरास्थित सशस्त्र प्रहरीको ५२ नम्बर गुल्मअन्तर्गत नेपाल–भारत सीमामा ५वटा बीओपी छन् ।