Sagun Khabar
बैतडीको वनारसी धाममा लागेको जात्रा सम्पन्न 

बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं –३ स्थित प्रसिद्ध वनारसी धाममा लागेको जात्रा सम्पन्न भएको छ । हरेक बर्षको माघ शुक्ल दशमी अथार्त शैल्य दशमीका दिन यो मन्दिरमा जात्रा लाग्ने गर्दछ । माघ शुक्ल पक्षको प्रतिपदाबाट पूजाआजा शुरु भइ माघ शुक्ल दशमीका दिन वनारसी धाममा जात्रा लाग्ने गरेको सहस्त्रलिङ्ग मन्दिरका पूजारी हरिदत्त पन्तले जानकारी दिए । 

अन्य मन्दिरमा बाह्रमण समुदायका मानिस पूजारी हुने भएपनि यो मन्दिरमा भने दलित समुदायका पूजारी छन् । दलित समुदायका पूजारीले पूजा गरिसकेपछि सबै समुदायका दर्शनार्थीले प्रसाद र टीका ग्रहण गर्ने प्रचलन रही आएको छ । 

वनारसी धाममा लागेको जात्रामा हजारौं दर्शनार्थीले दर्शन गरेको पन्तले जानकारी दिए । विभिन्न भाकलसहित भक्तजनहरु वनारसी धाममा पुगेका उनले बताए । 

Atrya hospital

वनारसी धामको जात्रालाई सामाजिक सदभावको जात्राको रुपमा लिने गरिएको छ । दलित समुदायका पूजारीले मुख्य पूजा गर्ने प्रचलन रही आएको छ । यो मन्दिरमा सबै समुदायका दर्शनार्थीहरु पुग्ने गरेका छन् ।  

वनारसी धाममा लागेको जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थीहरु समेत पुगेका पाटन नगरपालिका वडा नं ३ का वडा अध्यक्ष करुणाकर भट्टले बताए । वनारसी धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । 

वनारसी मन्दिरमा १२ औं शताब्दीबाटै जात्रा हुने गरेको स्थानीयबासी बताउँछन् । सोही बेलादेखि सो मन्दिरमा सबै समुदायका मानिस एकै ठाउँमा बसेर पूजाआजा गर्ने प्रचलन रही आएको छ । देवता र दैत्यबीच लडाईँ हुँदा खोपरे नामक दैत्यलाई वनारसी देवताले मारेको किम्वदन्ती रही आएको छ । सोही समयदेखि वनारसी देवतालाई शक्तिशाली देवताको रुपमा पूजाआजा गर्ने चलन रही आएको छ । 

वनारसी धाममा विश्वनाथ ज्योतिर्लिङ्ग स्थापना गरिएकाले पछिल्लो समयमा यहाँ दर्शन गर्नेहरुको संख्या बढ्दै गएको पण्डित गणेशदत्त पन्तले बताए । वनारसी धामकै क्षेत्रमा विश्वनाथ ज्योतिर्लिङ्ग स्थापना गरिएको छ । 

वनारसी धाम नै विश्वनाथ ज्योर्तिलिङ्ग भएको नेपालका प्रथम ऐतिहासिक जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले बताउँदै आएका छन् । उनले भने, ‘शास्त्रमा उल्लेख भएअनुसार पौराणिक सरयु नदी अर्थात् सुर्नयाको किनारमा विश्वनाथ धाम अवस्थित छ । त्यसैले वनारसी धाम नै विश्वनाथ ज्योतिर्लिङ्ग हो ।’

वनारसी धाममा बैतडीका विभिन्न ठाउँबाट जात्रा ल्याउने प्रचलन रही आएको छ । पाटनको गुजर, खिपाली, कुँडी लगायतका क्षेत्रबाट बाजागाजासहित जात्रा ल्याउने प्रचलन रही आएको छ । 

यसैबीच जात्राको अवसरमा आज पाटन नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको थियो । यो क्षेत्रको मुख्य धार्मिक स्थलमा वनारसी धाममा लाग्ने जात्राको अवसरमा बिदा दिइएको नगरपालिकाले जनाएको छ । 


 

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १७:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update