Sagun Khabar
ऐतिहासिक वनारसी धाममा पुरातत्व विभागको चासो 

बैतडी–बैतडीको पाटन नगरपालिका–३ स्थित प्रसिद्ध वनारसी धामको ऐतिहासिक र पौराणिक महत्वका बारेमा पुरातत्व विभागले चासो दिएको छ । 

शुक्रबारमात्रै जात्रा सम्पन्न भएको वनारसी धाममा शनिबार पुरातत्व विभागका अधिकृत राजेश परियारले अवलोकन गरेका छन् । वनारसी धाममा पुगेर यसको सांस्कृतिक र ऐतिहासिक बिशेषताको बारेमा जानकारी लिएको परियारले बताए । 

Atrya hospital

वनारसी धाममा अमूर्त संस्कृति रहेको र यसलाई संरक्षण गर्नु आवश्यक रहेको परियारले बताए । वनारसी धामको ऐतिहासिक र सांस्कृतिक महत्वका बिषयमा पाटन नगरपालिका वडा नं ३ का वडा अध्यक्ष करुणाकर भट्ट लगायतका सरोकारवाला व्यक्तिहरुसंग छलफल गरिएको उनले बताए । 

सामाजिक सदभाव र विभेद अन्त्यका लागि वनारसी धामको संस्कृति निकै महत्वपूर्ण रहेको बताउँदै अधिकृत परियारले यसको सभ्यता अध्ययनमा विभागले काम गर्ने बताए । 

वनारसी धाममा विश्वनाथ ज्योतिर्लिङ्ग समेत स्थापना गरिएको छ । परापूर्वकालदेखि दलित समुदायका मानिस मुख्य पूजारी रहेको यो मन्दिरमा सबै जातजातीका दर्शनार्थीहरुको सहभागिता रहने गर्दछ । 

१२ औं शताब्दीदेखि यो मन्दिरमा जात्रा लाग्ने गरेको र यसमा सबैको सहभागिता हुने गरेको ज्योतिष पण्डित गणेशप्रसाद पन्तले बताए । यसको महिमाको बारेमा सबैलाई जानकारी गराउन आफूले पहल गरिरहेको उनले बताए ।

प्रसिद्ध वनारसी धाममा हरेक बर्ष माघ शुक्ल दशमीका दिन भव्य जात्रा लाग्ने गर्दछ । यो जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत आउने गरेका स्थानीय गणेशदत्त पन्तले बताए । उनले भने,‘वनारसी धाममा दर्शन गर्नेको संख्या हरेक बर्ष बढ्दै गएको छ । धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।’

वनारसी धाम जात्राको भोलिपल्ट धाममा पुगेका पुरातत्व विभागका अधिकृत परियारले यो क्षेत्रमा अटुट संस्कृति रहेको आफूले पाएको बताए । उनले भने,‘वनारसी धाममा पुगेर यसका सरोकारवालाहरुसंग छलफल गरे । यहाँको संस्कृतिको बिषयमा बुझ्ने मौका पाए । विभागले संस्कृति संरक्षणको क्षेत्रमा पनि काम गर्ने भएकाले यो बिषयमा छिट्टै विभागलाई प्रतिवेदन पेश गर्नेछु ।’
 

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १५:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update