Sagun Khabar
बैतडीको भीटा भीरमा कहिले होला बाटो सुधार ? 

बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं ३ बाट पालिकाको केन्द्र जोड्ने मुख्य पैदल बाटोको रुपमा रहेको भीटा भीरको बाटो अहिलेसम्म सुधार हुन सकेको छैन् । 

पाटन बजार क्षेत्रलाई जोड्ने उक्त बाटो भएर पाटन नगरपालिकाका मात्रै नभएर सुर्नयाका नागरिक समेत आवतजावत गर्ने गर्दछन् । सुर्नया नदीमाथि भीरैभीर रहेको उक्त बाटो सुधार नहुँदा आवतजावत गर्नेलाई निकै सास्ती हुने गरेको छ । 

बैतडीको प्रसिद्ध वनारसी धाममा जाने बाटो पनि भीटा भीरकै बाटो हो । तर त्यो बाटो सुधार नहुँदा दर्शनार्थीहरुलाई धाममा पुग्न निकै असहज हुने गरेको छ । 

Atrya hospital

पाटन बजारबाट केही परदेखि नहर हुँदै भीटा भीरको बाटो आइपुग्छ । त्यो बाटोमा हिँड्दा धेरैलाई असहज हुने गरेको छ । 

सुर्नया गाउँपालिकाबाट पैदल पाटन बजार आउने जाने नागरिक र पाटन नगरपालिका –३ का नागरिकले यो बाटो सधैं प्रयोग गर्ने गरेका छन् । त्यतिमात्रै नभएर पाटन नगरपालिका –६ का स्थानीयहरुले घाँसापात ल्याउने बाटो पनि यही बाटो हो । तर बाटो सुधारमा कसैले ध्यान नदिँदा समस्या भएको स्थानीयहरुले बताएका छन् । 

वनारसी धाममा हरेक बर्ष माघ शुक्ल दशमीका दिन लाग्ने जात्रामा उक्त बाटो भएर हजारौं दर्शनार्थी आवतजावत गर्ने गर्दछन् । तर बाटो सुधार नहुँदा आवतजावतमै समस्या रहेको स्थानीय संस्कृतिका जानकार हेमबाबु लेखकले बताए । उनले भने,‘नगरपालिकाले यो बाटो सुधारमा ध्यान दिनु अतिआवश्यक छ । ऐतिहासिक र धार्मिक स्थलसंग जोडिएको यो बाटोमा स्थानीय सरकारको ध्यान जान सकेको छैन् ।’

भीटा भीरको बाटो सुधार नहुँदा कतिपय नागरिकले वनारसी धामको दर्शन समेत गर्न नपाएका स्थानीय डम्मरदत्त पन्तले बताए । यो बाटो नगरपालिकाका पैदल बाटोहरुमध्ये धेरै मानिस आवतजावत गर्ने बाटो हो । तर यसमा नगरपालिकाले अहिलेसम्म ध्यान दिन नसकेको उनले बताए । 

स्थानीय तहमा दोश्रो पटक निर्वाचित भएर जनप्रतिनिधि आइसक्दा समेत भीटा भीरको बाटो सुधारमा ध्यान नदिएको स्थानीयहरुको गुनासो छ । तर पनि स्थानीय सरकारले बाटो सुधारका लागि खासै पहल गर्न सकेको छैन् । 

भीटा भीरको बाटो सुधारमा स्थानीय सरकारको ध्यान पुग्न नसकेको सामाजिक अभियान्ता रमेश कोलीले बताए । पछिल्लो समयमा वनारसी, विश्वनाथ धामको प्रचारप्रसार भएपनि बाटो सुधारमा कसैको ध्यान जान नसकेको उनले बताए । बाटो नभएकै कारण कतिपय दर्शनार्थीहरु वनारसी धाममा पुग्न नसकेका उनले बताए । 

बाह्रैमास स्थानीयहरुले आवतजावत गर्ने भीटा भीरको बाटो सुधारमा कसैले ध्यान नदिँदा विभिन्न समयमा अप्रिय घटना समेत भएका कोलीले बताए । यो बाटो सुधारमा ध्यान दिनुपर्नेमा उनले जोड दिए । 
 

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १५:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update