Sagun Khabar
दार्चुलामा भारतको सहयोगमा निर्माण गरिएको स्वास्थ्यचौकी भवन उद्दघाटन 

दार्चुला –भारत सरकारको आर्थिक सहयोगमा निर्मित दार्चुलाको नौगाड गाउँपालिकास्थित इयरकोट स्वास्थ्य चौकी भवनको शनिबार उद्घाटन गरिएको छ ।

‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत रु दुई करोड ५३ लाख लागतमा निर्माण भएको उक्त भवनको नौगाड गाउँपालिकाका अध्यक्ष दलजीतसिंह धामी र काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाशकुमार सिंहले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । 

Atrya hospital

भवन उद्दघाटन कार्यक्रममा नेपालका जनताको उत्थानमा भारत सरकारले गरेको निरन्तर विकास सहयोगको प्रशंसा गरिएको थियो । उक्त कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी र सामाजिक कार्यकर्ताहरूको उपस्थिति थियो । 

भारत सरकारको अनुदानमा स्वास्थ्यचौकी भवन निर्माण भएपछि स्वास्थ्य सेवा प्रदानमा सहजता हुने अध्यक्ष धामीले बताए । 

उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रूपमा गाउँपालिकामार्फत स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । भवन निर्माणपछि दुर्गम क्षेत्रका स्थानीयहरूलाई स्वास्थ्य सेवासुविधा प्रदान गर्न उपयोगी हुने विश्वास व्यक्त गरिएको छ ।

यसअघि शुक्रबार शैल्यशिखर नगरपालिका–८ स्थित गलैनाथ मावि झरकाँडाको भवन उद्दघाटन गरिएको थियो । ४ करोडको लागतमा निर्माण भएको उक्त भवनमा ८० प्रतिशत लगानी भारत सरकारले दूतावासमार्फत गरेको थियो भने २० प्रतिशत लगानी शैल्यशिखर नगरपालिकाले गरेको थियो । 
 

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update