Sagun Khabar
झुलाघाटमा सडक चौडा पारिँदै 

बैतडी –मध्यपहाडी लोकमार्गको अन्तिम विन्दुका रूपमा रहेको झुलाघाट सडक चौडा पार्ने कार्य भइरहेको छ । साँघुरो सडकमा दुर्घटना बढ्न थालेपछि सडकलाई चौडा पार्ने काम थालिएको हो । नेपाल–भारत सीमा क्षेत्रसमेत रहेको दशरथ चन्द नगरपालिका–८ को झुलाघाटमा पटक पटक दुर्घटना हुन थालेपछि २५० मिटर सडकखण्ड चौडा पार्ने कार्य भइरहेको सडक डिभिजन कार्यालय पाटन, बैतडीका सूचना अधिकारी लिलाधर भट्टले जानकारी दिए । 

झुलाघाट नाका भारतसँग जोडिएको पुरानो नाका हो । यो नाकाबाट बैतडीलगायत सुदूरपश्चिम र कर्णालीका सर्वसाधारण नेपाल –भारत आवतजावत गर्ने गरेका छन् । 

Atrya hospital

भारतबाट मजदुरी गरेर फर्कने बेला गत भदौमा यही सडकबाट चिप्लेर बैतडीको पुर्चौंडीका एक मजुदुरको महाकाली नदीमा खसेर मृत्यु भएको थियो । केही बर्ष अगाडि यही सडकबाट बोलेरो जि महाकालीमा खसेको थियो । 
सीमासँग जोडिएको सडक साँघुरो हुँदा बेला–बेला दुर्घटना हुन थालेपछि सडकलाई स्तरोन्नती गर्ने कार्य भइरहेको सूचना अधिकारी  भट्टले बताए । 

झुलाघाटको यातायात बिसौनीदेखि पिपल चौतारासम्म २५० मिटर सडकलाई ७ मिटर चौडा पार्ने काम भइरहेको छ । एक ठाउँमा घरधनीले मुआब्जा मागेका कारण ७ मिटर चौडा हुन सकेको छैन् । बाँकी सबै ठाउँमा चौडा पारी यो वर्ष ५० मिटर जति ढलान गर्ने योजना समेत रहेको भट्टले बताए । 

यस्तै ५० मिटर खण्डमा नाली समेत निर्माण गरिनेछ भने बजार नजिकै प्याराफिट निर्माण गर्ने योजना रहेको छ । 

जय माँ भगवती निर्माण सेवाले ६५ लाखको लागतमा ठेक्का प्रक्रियाद्वारा सडक चौडा पार्ने कार्य गरिरहेको सडक डिभिजन कार्यालय पाटन,बैतडीका प्रमुख लक्ष्मणदत्त जोशीले बताए । उक्त खण्ड स्तरोन्नतीका लागि १ करोडको ठेक्का आह्वान भएपनि घटाघटीमा ६५ लाख रुपैयाँमा ठेक्का सदर भएको हो । 

झुलाघाटमा सडक चौडा भएमा सवारी साधन सञ्चालनमा सहज हुनुका साथै आवतजावत गर्नेहरुलाई समेत सहज हुने सवारी चालक दानबहादुर क्षेत्रीले बताए । झुलाघाट बजार क्षेत्र नजिकैको सडक चौडा नहुँदा समस्या भइरहेका बेला सडक चौडा बनाउने कार्यलाई सवारी साधन सञ्चालनमा सहज हुने उनले बताए । 

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update