
बैतडी –धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीको पाटन नगरपालिका–८खोड्पेका हरिश भाटले नगद ५० हजार पुरस्कार जितेका छन् ।
आज भएको दोस्रो सेमिफाईनल खेलमा छक्का प्रहार भएको बललाई समातेका हरिशले ब्रेड बक्सको तर्फबाट नगद ५० हजार रुपैयाँ प्राप्त गरेका हुन् ।
ब्रेड बक्सले सेमिफाईनल खेलमा प्रहार भएको छक्का समात्ने पहिलो दर्शकलाई नगद ५० हजार रुपैयाँ पुरस्कार घोषणा गरेको थियो ।
पहिलो सेमिफाईनलमा कुनै क्याच नभएपनि दोस्रो सेमिफाईनल खेलमा हरिशले पहिलो क्याच गरेका हुन् । प्रतियोगिताभरीमा अहिले सम्म बाहिरबाट कसैले बल क्याच गर्न सकेका थिएनन् ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौट प्रतियोगिता खेल्न हिजोमात्रै भाट धनगढी पुगेका हुन् । एथलेटिक्स खेलाडी रहेका उनी जिल्ला छनोट प्रतियोगितामा छनोट भएर प्रदेश छनोट खेल्न पुगेका हुन् ।
ज्याभलिङ थ्रोका खेलाडी हरिश साथीहरुसंगै क्रिकेट हेर्न फाप्ला मैदानमा पुगेका थिए ।
उडेर आएको बललाई पछाडी सरेर क्याच गर्न सफल भएको उनले बताए । नगद ५० हजार प्राप्त गरेका उनले त्यो रकमलाई आफ्नो खेलमा नै लगानी गर्ने बताए । उनले नगद ५० हजार सहित खल्तीको तर्फबाट एयर बड समेत पाएका छन् ।
प्रतियोगिताको फाईनल खेलमा दर्शकले क्याच गरेमा ब्रेड बक्सले नगद एक लाख प्रदान गर्नेछ । त्यसका लागि दर्शकले टिकट काटेको हुनुपर्ने आयोजकले जनाएको छ ।