Sagun Khabar
गरिब विद्यार्थीलाई दनपाकी उपप्रमुख चन्दको सहयोग, तिरिदिइन् शुल्क 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले गरिब विद्यार्थीहरुलाई सहयोग गरेकी छन् । विद्यालयमा बुझाउनुपर्ने शुल्क बुझाउन नसक्दा सर्टिफिकेटबाट वञ्चित भएका पाँच जना छात्राको शुल्क उपप्रमुख चन्दले तिरी दिएकी हुन् । 

दशरथचन्द नगरपालिका–१० स्थित दानेश्वर मावि बाराकोटमा कृषि जेटीए अध्ययन गरेका पाँच जना छात्राको शुल्क तिरिदिएको उपप्रमुख चन्दले बताइन् । शुल्क तिर्न पैसा नहुँदा उनीहरुले सर्टिफिकेट पाउन नसकेको अवस्थामा उपप्रमुख चन्दले शुल्क बापतको रकम विद्यालयको खातामा जमा गरेकी हुन् । 

Atrya hospital

उपप्रमुखले शुल्क तिरेपछि निशा दमाई, सपना दमाई, ज्योति थापा, दिपा रावल र रविना थापाले विद्यालयबाट सर्टिफिकेट प्राप्त गरेका छन् । 

कृषि जेटीए उत्तीर्ण गरेपनि विद्यालयको शुल्क उनीहरुले बुझाउन सकेका थिएन् । उपप्रमुख चन्दले आफूले पाउने सेवासुविधाको रकमबाट पाँच जना छात्राको शुल्क तिरेकी हुन् । 

उपप्रमुखले पाँच जना विद्यार्थीको शुल्क विद्यालयको खातामा जम्मा गरेपछि सोमबार विद्यार्थी र अभिभावक बोलाएर सर्टिफिकेट हस्तान्तरण गरिएको दानेश्वर माविका प्रधानाध्यापक हर्कसिंह बिष्टले बताए । अघिल्लो नगर सरकारले शुल्क तिरिदिने शर्तमा विद्यार्थीहरुलाई भर्ना गरिएको थियो । तर नगरपालिकामा दोश्रो निर्वाचनबाट सरकार परिवर्तन भएपनि कार्यविधि नबनेको भन्दै शुल्क दिएको थिएन् । नगरपालिकाले नदिएपछि उपप्रमुखले आफूले पाउने मासिक सुविधाको रकमबाट शुल्क तिरेपछि विद्यार्थीहरुलाई सर्टिफिकेट वितरण गरिएको प्रधानाध्पाक बिष्टले बताए । 

शुल्क बुझाउन नसकेकै कारण पाँच जना छात्राहरुको सर्टिफिकेट रोकिएको कुरा थाहा पाएपछि आफूले शुल्क तिरिदिएको उपप्रमुख चन्दले बताइन् । अत्यन्त विपन्न घरपरिवारका विद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा निकै खुसी लागेको उनले बताइन् । 

दानेश्वर माध्यमिक विद्यालयले २०७५ सालदेखि निजी स्रोतका शिक्षक राखेर १८ महिने कृषि प्राविधिक विषयको पढाइ गरिरहेको छ । निजी श्रोतका शिक्षकहरुको तलब व्यवस्थापन गर्नका लागि शुल्क तोकिएको बताइएको छ । 
उपप्रमुख चन्दको सहयोगले पाँच जना विद्यार्थीहरुले सर्टिफिकेट पाएको र यो निकै राम्रो कार्य भएको जिल्ला समन्वय समितिका पूर्व सदस्य लालबहादुर चन्दले बताए । 
 

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update