
बैतडी–बैतडीको सुर्नया गाउँपालिका र पाटन नगरपालिकाबीच समन्वयात्मक बैठक सम्पन्न भएको छ ।
मंगलबार सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरको अध्यक्षतामा सुर्नया गाउँपालिकामा बसेको बैठकमा पाटन नगरपालिकाकातर्फबाट उपप्रमुख कमलसिंह बोहरा लगायतको सहभागिता रहेको थियो ।
बैठकले दुवै पालिकाले आगामी दिनमा समन्वय र सहकार्यका साथ अगाडि बढ्ने निर्णय गरेको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।
बैठकमा पाटनमा सञ्चालित सुरक्षित महिला आवास गृह सञ्चालनका लागि सहयोग गर्ने नि(निर्णय भएको छ । यस्तै दुवै पालिकाले प्राकृतिक श्रोत साधनको प्रयोगमा केही विवाद देखिएमा मिलेर सुल्झाउने निर्णय गरेका छन् । सीमामा भएका प्राकृतिक श्रोतको प्रयोगमा आउन सक्ने विवाद दुवै पालिका मिलेर निरुपण गर्ने निर्णय भएको अध्यक्ष कुँवरले बताए ।
यस्तै पूर्वाधारका क्षेत्रमा कुनै समस्या आएमा दुवै पालिकाले मिलेर समाधान गर्ने निर्णय पनि भएको छ । एक–अर्का पालिकाको सीमा जोड्ने सडक लगायतका पूर्वाधारहरुमा समस्या आएमा मिलेर समाधान गरिने अध्यक्ष कुँवरले बताए ।
यस्तै पालिकाहरुले गरिरहेका कामका बिषयमा अनुभव आदान–प्रदान गरिएको अध्यक्ष कुँवरले बताए ।
बैठकमा सुर्नया गाउँपालिकाका अध्यक्ष कुँवरका साथै प्रमुख प्रशासकीय अधिकृत लोगराज जोशी, वडा अध्यक्ष लगायतको सहभागिता रहेको थियो । पाटन नगरपालिकाबाट उपप्रमुख बोहराका साथै महिला तथा बालबालिका शाखा प्रमुख बिष्ना भण्डारी लगायतको सहभागिता रहेको थियो ।
यसअघि सोमबार पाटन नगरपालिका र मेलौली नगरपालिकाबीच समन्वयतात्मक बैठक सम्पन्न भएको थियो ।