
बैतडी–बैतडीको सुर्नया गाउँपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि पहल थालेको छ ।
गाउँपालिकाको शिक्षा शाखाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि पहल शुरु गरेको शिक्षा शाखा प्रमुख टंकप्रसाद अवस्थीले बताए ।
मंगलबार पालिकाभित्रका ३९ ओटै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसंग शैक्षिक गुणस्तर अभिवृद्धिका बिषयमा अन्तरक्रियात्मक छलफल गरिएको अवस्थीले बताए । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीको समेत उपस्थितीमा शैक्षिक गुणस्तर अभिवृद्धिका बिषयमा छलफल गरिएको हो ।
छलफलमा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले विद्यालयहरुले भोग्नुपरेका चुनौती र आगामी दिनमा गर्न सकिने योजनाका बिषयमा जानकारी गराएका छन् ।
सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि यस्ता खालका छलफलहरुले केही सहयोग मिल्ने शंकर संस्कृत मावि मूलखटालीका प्रधानाध्यापक रामबहादुर बिष्टले बताए । उनले भने,‘सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धिमा यस्ता खालका छलफलले केही सहयोग हुन सक्छ । यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनु आवश्यक छ ।’
छलफलमा सामुदायिक विद्यालयहरुमा भौतिक संरचनाको अभाव लगायतका बिषय पनि उठेका छन् । यसले शिक्षण सिकाइ क्रियाकलापमा प्रभाव पार्ने भएकाले भौतिक संरचनाको व्यवस्थापनमा समेत ध्यान दिन आग्रह गरिएको छ ।
माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार स्थानीय तहलाई दिएपछि सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि अपनाउन सकिने उपायका बारेमा अन्तरक्रियामा छलफल भएको शिक्षा शाखा प्रमुख अवस्थीले बताए ।
पालिकाले विद्यालयहरुमा निकासा गर्ने खर्च सम्बन्धित शीर्षकमै खर्च गर्नुपर्ने, कक्षाकोठामा शैक्षिक सामग्रीको भरपुर प्रयोग गर्नुपर्ने बिषयमा समेत अन्तरक्रियामा छलफल भएको छ ।
गाउँपालिकामा गरिएको छलफलमा सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले शिक्षा क्षेत्रको विकास भएमात्रै अन्य क्षेत्रको विकासमा टेवा पुग्ने भएकाले शैक्षिक गुणस्तर सुधारमा ध्यान दिन प्रधानाध्यापकहरुलाई आग्रह गरे । सामुदायिक विद्यालयका समस्याहरु समाधानका लागि पालिकाले प्रयास गरिरहेको बताउँदै उनले शैक्षिक गुणस्तर सुधारका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।
शैक्षिक गुणस्तर सुधारका लागि सुर्नया गाउँपालिकाले गरेको प्रयासले शिक्षा क्षेत्र सुधारमा केही सहयोग पुग्ने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख अवस्थीले बताए ।
सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि यो बर्षदेखि कक्षा ८को बोर्ड परीक्षामा केही नयाँ प्रयास गर्ने तयारी भएको शिक्षा शाखा प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए ।
यसैबीच सुर्नया गाउँपालिका–५ स्थित रौलेश्वर मावि रामकी बरायल र वडा नं –६ स्थित शंकर संस्कृति मावि मूलखटालीको अनुगमन गरिएको छ ।
विद्यालयका नयाँ प्रयास, भोग्नु परेका समस्या र समस्या समाधानका लागि गर्न सकिने उपाय लगायतको उद्देश्यले विद्यालयहरुमा अनुगमन गरिएको शिक्षा शाखा प्रमुख अवस्थीले बताए ।