
बैतडी –बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जे तीन ठाउँबाट सडक सञ्जालमा जोडिएको छ । २०७४ सालमा निर्वाचन हुँदा सिगास गाउँपालिकाको केन्द्र गर्जे पुग्न निकै सकस हुने गरेको थियो ।
गाउँपालिकाको केन्द्रमा तीन ठाउँबाट कच्ची सडक पुगिसकेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए । गाउँपालिकाको केन्द्रमा सडक पुर्याउने योजना अनुसार सडक निर्माणलाई प्राथमिकता दिएको उनले बताए । उनले भने,‘म दोश्रो पटक पनि अध्यक्षमा निर्वाचित भएको छु । पहिलो कार्यकालका अधुरा कामहरुलाई प्राथमिकतामा राखेर काम गरिरहेको छु ।’
श्रीभावर दोगाड हुँदै गर्जे सडक पुगेको छ भने लगन –साउनखेत हुँदै गर्जे अर्को सडक पुगेको छ । यसैगरी डडेल्धुराको नवदुर्गा हुँदै बैतडीको ढुंगाड भएर अर्को सडक गर्जे पुगेको छ ।
तीन सडकमध्ये श्रीभावर–दोगाड –गर्जे सडक कालोपत्रेका लागि एसीयाली विकास बैंकले काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए । सडक कालोपत्रेका लागि प्राविधिक टोलीले सर्वेको काम गरिरहेको उनले बताए ।
केही महिना अगाडि उक्त सडक कालोपत्रे गर्नका लागि सम्झौता भएको थियो ।
गाउँपालिकाको केन्द्रमा सडक जोडिएपछि स्थानीयबासीहरुलाई सहज भएको छ । गाउँपालिकाको केन्द्रसम्म हिँडेर पुग्नुपर्ने बाध्यताको लगभग अन्त्य भएको छ । गाँजरी हुँदै गर्जे सडकमा विवादका कारण रोकिएको र अब काम सुचारु हुने बताइएको छ । गाँजरी–कुर्चेनेटा हुँदै गर्जे सडक निर्माण भएमा झन् सहज हुने स्थानीयहरुले बताएका छन् ।
यसका साथै पालिकाका ९ ओटै वडाका केन्द्रहरुमा सडकको पहुँच रहेको गाउँपालिकाले जनाएको छ । भौगोलिक रुपमा विकट सिगास गाउँपालिकाले सडक निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको अध्यक्ष धामीले बताए ।