
बैतडी–बैतडीको शिवनाथ गाउँपालिकामा विद्युत विस्तार गरिने भएको छ । गाउँपालिकाको केन्द्र सुल्लेखान बाहेक अन्यत्र ठाउँमा विद्युत राष्ट्रिय प्रशारण नपुगेकाले ६ ओटै वडामा विद्युत विस्तारको काम हुने गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए ।
शिवनाथ गाउँपालिकामा विद्युत विस्तारका लागि फिल्ड सर्वे गरिएको र अब काम अघि बढ्ने अध्यक्ष साउँदले बताए ।
गाउँपालिकाभित्र विद्युत विस्तारका लागि शिवनाथ गाउँपालिका, नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्र र विद्युत विस्तार आयोजनाले काम गरिरहेको छ । बुधबार पालिकाभरीका टोलहरुमा विद्युत विस्तारका लागि संयुक्त अनुगमन समेत गरिएको शिवनाथ गाउँपालिकाका प्रवक्ता केशवबहादुर चन्दले बताए ।
शिवनाथ गाउँपालिकाका तीन हजार घरधुरीमा विद्युत विस्तार हुन बाँकी रहेको छ । यो बर्ष केही घरधुरीमा विद्युत विस्तार भइसक्ने नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्राविधिक प्रमुख माधवप्रसाद लेखकले बताए । गाउँपालिकाको वडा नं २ मा विद्युत विस्तारका लागि बैतडी वितरण केन्द्रले काम गरिरहेको उनले बताए ।
अन्य वडाहरुमा विद्युत विस्तार आयोजनामार्फत विद्युत विस्तारको काम हुने बताइएको छ । बैतडीमा पूर्ण विद्युतीकरण कार्यक्रम अन्तर्गत विद्युत विस्तार आयोजनाले काम गरिरहेको छ ।
गाउँपालिका अध्यक्ष कर्णसिंह साउँद, प्रवक्ता केशवबहादुर चन्द, बैतडी वितरण केन्द्रका प्राविधिक प्रमुख माधवप्रसाद लेखक, विद्युत विस्तार आयोजनाका प्रतिनिधि र निर्माण कम्पनीका प्रतिनिधिहरुले विद्युत विस्तारका लागि स्थलगत अनुगमन गरेका हुन् । अनुगमनका क्रममा भौगोलिक स्थिती, आवश्यक पर्ने तार पोल लगायतका बिषयमा थाहा भएको प्राविधिक प्रमुख लेखकले बताए । उनले भने,‘शिवनाथ गाउँपालिकामा विद्युत विस्तारका लागि काम भइरहेको छ । केही ठाउँमा वितरण केन्द्रले काम गर्छ, केही ठाउँमा आयोजनाले काम गर्छ । यो बर्ष धेरै घरधुरीमा बिजुली बल्छ ।’
गाउँपालिका प्रत्येक घरधुरीमा विद्युत विस्तार गर्ने कार्यलाई पालिकाले प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष साउँदले बताए । चालु आर्थिक बर्षभित्र बढीभन्दा बढी घरधुरीमा विद्युत विस्तार गर्ने योजना रहेको उनले बताए । उनले भने,‘हामीले पालिकाभित्र विद्युत विस्तार गर्ने कामलाई प्राथमिकतामा राखेका छौं । सोही अनुसार सबैसंग समन्वय गरेर काम अघि बढीरहेको छ ।’