
बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिकाले आधारभूत तह कक्षा ५ को पालिकास्तरीय परीक्षा सञ्चालन गर्ने भएको छ । चालु शैक्षिक सत्रदेखि कक्षा ५ पालिकास्तरीय परीक्षा सञ्चालन हुने दोगडाकेदार गाउँपालिकाको शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक गंगा भट्टले बताइन् ।
सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि आधारभूत तह कक्षा ५ को पालिकास्तरीय परीक्षा सञ्चालन गर्ने निर्णय भएको उनले बताइन् । कक्षा ५ को पढाइ हुने सबै विद्यालयका विद्यार्थीहरुका लागि समान प्रश्नपत्र पालिकाले तयार पार्ने उनले बताइन् ।
दोगडाकेदार गाउँपालिकाभित्र कक्षा ५ को पढाइ हुने ४३ ओटा विद्यालयहरु रहेका छन् । ती विद्यालयहरुमा अध्ययनरत कक्षा ५ का विद्यार्थीहरुका लागि एकै किसिमको प्रश्नपत्र तयार पारिने भट्टले बताइन् ।
यस्तै कक्षा ५ को परीक्षा सञ्चालनका लागि १६ ओटा केन्द्र तय गरिने भएको छ । यसको अन्तिम टुंगो लाग्न भने बाँकी रहेको भट्टले बताइन् । उनले भनिन्,‘आधारभूत तहबाट सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउन हामीले यो प्रयास गरेका हौं । यसले विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार आउने र विद्यार्थीहरुको शिक्षण सिकाइमा अभिवृद्धि हुने अपेक्षा लिएका छौं ।’
कक्षा ५ को पालिकास्तरीय परीक्षा सञ्चालनका लागि परीक्षा तालिका समेत सार्वजनिक भएको छ । यही फागुन २५ गतेदेखि चैत ४ गतेसम्म परीक्षा सञ्चालन हुने बताइएको छ ।
यस्तै कक्षा ८ को पालिकास्तरीय बोर्ड परीक्षाको समेत परीक्षा तालिका सार्वजनिक भएको प्राविधिक सहायक भट्टले बताइन् । दोगडाकेदारमा कक्षा ८ को पालिकास्तरीय बोर्ड परीक्षा पनि फागुन २५ देखि चैत ४ गतेसम्म सञ्चालन हुनेछ । दोगडाकेदारमा कक्षा ८ को पढाइ हुने १९ ओटा विद्यालय रहेका छन् । कक्षा ८ को परीक्षाका लागि केन्द्रको संख्या निर्धारण गर्न भने बाँकी रहेको छ ।
कक्षा ८को पालिकास्तरीय परीक्षा पहिलादेखि नै सञ्चालन हुँदै आएको भएपनि कक्षा ५ को पालिकास्तरीय परीक्षा भने पहिलो पटक सञ्चालनको तयारी भएको हो ।
कक्षा ५ को परीक्षाको प्रश्नपत्र तयार पार्ने, परीक्षाफल तयार पार्ने काम समेत पालिकाबाटै हुने भट्टले बताइन् ।
पछिल्लो समयमा स्थानीय तहहरुले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि केही पहलहरु गरिरहेका छन् । यसअघि दशरथचन्द नगरपालिकाले पनि कक्षा ५ को पालिकास्तरीय परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
यस्तै सिगास गाउँपालिकाले कक्षा १ देखि ९ सम्मको प्रश्नपत्रमा एकरुपता ल्याएको छ । सबै विद्यालयमा एकै किसिमको प्रश्नपत्र हुने र पालिकाले प्रश्नपत्र तयार पारिसकेको शिक्षा शाखा प्रमुख रमेशप्रसाद भट्टले बताए ।