
बैतडी –बैतडीमा पनि नसर्ने रोग पहिचानका लागि एक महिने अभियान शुरु गरिएको छ । जिल्लाका सबै स्वास्थ्य संस्थाहरुले अभियानको थालनी गरेको जनाएका छन् ।
नेपालमा हुने मृत्युको लगभग तीन चौथाई अनुपात नसर्ने रोगले ओगटेको छ । नेपालभित्र बसोवास गर्ने ३० वर्षभन्दा माथिका नागरिकलाई हरेक पालिकाका स्वास्थ्य संस्थामा मधुमेह, उच्च रक्तचाप, मिर्गाैलासम्बन्धी रोग एवम् शरीरको उचाइ र तौलको अनुपात समयमै पहिचान गरी रोकथाम तथा व्यवस्थापन गर्ने अभियानको लक्ष्य छ ।
जिल्लाको पाटन नगरपालिका–स्थित पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा नसर्ने रोग पहिचानका लागि एक महिने अभियानको शुभारम्भ गरिएको छ ।
उक्त अभियानको पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिंह रावलले एक कार्यक्रमकाबीच उद्दघाटन गरेका छन् । यो अभियानले नसर्ने रोगको उपचारमा सहयोग पुग्ने विश्वास गरिएको उनले बताए ।
पछिल्लो समयमा नेपालमा नसर्ने रोगका कारण बिरामी हुने एवम् मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको स्वास्थ्य केन्द्रमा कार्यरत डा. सुरेशबहादुर बिष्टले बताए ।
बदलिँदो जीवनशैली, बढ्दो शहरीकरण, परिवर्तित जनसंख्याको अनुपात, जलवायु परिवर्तन जस्ता विविध कारणले नसर्ने रोगको समस्या बढ्दै गएको बताइएको छ ।
समयमै पहिचान र उपचार नहुँदा उच्च रक्तचापबाट हुने जटिलताहरू जस्तै मस्तिष्कघात, हृदयघात, दीर्घ मिर्गौला रोग आदिको व्यवस्थापनमा व्यक्ति, परिवार तथा राज्यको ठुलो धनराशी खर्च हुनका साथै बिरामीको अल्पायूमै मृत्यु भइरहेको छ ।
जनस्वास्थ्यको समस्याको रूपमा देखा पर्दै गएको नसर्ने रोगलाई नियन्त्रण गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मधुमेह, उच्च रक्तचाप, शरीरको उचाइ र तौलको अनुपातको पहिचान गर्न आजदेखि अभियान शुरु गरिएको हो ।
उक्त अभियानमा प्रत्येक स्वास्थ्य संस्थामा चार प्रकारका नसर्ने रोग मधुमेहको परीक्षण, रक्तचाप परीक्षण, मिर्गौला रोगसम्बन्धी परीक्षण, उचाइ र तौलको आधारमा बिएमआई मापन निःशुल्क परीक्षण गरिने प्राथमिक स्वास्थ्य केन्द्र पाटनका प्रमुख प्रेमसागर भट्टले बताए ।
जिल्लाका सबै स्वास्थ्य संस्थाहरुबाट नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान शुरु गरिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले बताए ।
यसैबीच नसर्ने रोगका कारण अपांगता भएका एकजनालाई ह्वेलचेयर वितरण गरिएको छ । पाटन नगरपालिका–६ का ५२ बर्षीय हरिसिंह भण्डारीलाई नगर प्रमुख रावलले ह्वेलचेयर हस्तान्तरण गरेका हुन् । उक्त ह्वेलचेयर प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत प्राप्त भएको स्वास्थ्य केन्द्रका प्रमुख भट्टले बताए ।