
बैतडी–बैतडीको सुर्नया गाउँपालिका वडा नं ८ को कार्यालयले वडाले प्रदान गर्ने सेवाका बारेमा टोल–टोलमा गएर जानकारी गराउन थालेको छ ।
वडाले प्रदान गर्ने सेवाका बारेमा नागरिकहरुलाई जानकारी गराउनका साथै सेवा लिन आउँदा आवश्यक पर्ने कागजातका बिषयमा जानकारी दिने गरि अभियान शुरु भएको वडा कार्यालयका प्राविधिक विरेन्द्र बोहराले बताए ।
व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ता र अन्य सेवा लिँदा आवश्यक पर्ने कागजातका बिषयमा सेवाग्राहीहरुलाई जानकारी दिइएको बोहराले बताए । बिहीबार वडाको सेला टोलमा कार्यक्रम गरिएको छ भने अन्य टोलहरुमा पनि कार्यक्रम सञ्चालन गरिने उनले बताए ।
यस्तै व्यवसायिक कृषिमा आवद्ध हुन चाहने किसानहरुका लागि वडा कार्यालयकातर्फबाट गर्न सकिने सहयोगका बिषयमा पनि छलफल गरिएको बोहराले बताए ।
वडाले प्रदान गर्ने सेवाका बारेमा जानकारी दिनका लागि आयोजना गरिएको कार्यक्रममा वडाका जनप्रतिनिधिका साथै वडा सचिव तारा भण्डारीको समेत सहभागिता रहेको छ ।
यस्तै विद्यालयका बालबालिकाहरुलाई समेत व्यक्तिगत घटना दर्ताको महत्वका बिषयमा जानकारी दिने गरिएको बोहराले बताए । व्यक्तिगत घटना दर्तामा कोही पनि नछुटुन भन्ने उद्देश्यले बालबालिकाहरुलाई समेत जानकारी दिने गरिएको उनले बताए ।