
बैतडी–बैतडीको पाटन नगरपालिका–१ स्थित सकार टोलबाट नसर्ने रोग पहिचान कार्यक्रम शुभारम्भ गरिएको छ ।
देशव्यापी रुपमा सञ्चालन सञ्चालन भएको एक महिने अभियानको शुभारम्भ गर्दै पहिलो दिन ६३ जनाले सेवा लिएको सकार स्वास्थ्यचौकीका प्रमुख नरेन्द्रराज भट्टराईले बताए ।
६३ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा १० जनामा उच्च रक्तचाप र दुई जनामा मधुमेहको समस्या देखा परेको भट्टराईले बताए ।
सकार स्वास्थ्यचौकीले गत बर्षदेखि नै आफ्नो सेवा क्षेत्रभित्र निशुल्क रुपमा नसर्ने रोगको पहिचान गर्दै आएको थियो । अहिले देशव्यापी रुपमा यो कार्यक्रम सञ्चालनमा आएकाले निकै खुसी लागेको स्वास्थ्यचौकी प्रमुख भट्टराईले बताए ।
नसर्ने रोगहरु अहिले जनस्वास्थ्यको विकराल समस्याको रुपमा देखा परेको बताउँदै स्वास्थ्यचौकी प्रमुख भट्टराईले समयमै नसर्ने रोगको परीक्षण गर्नुपर्नेमा जोड दिए ।
पाटन नगरपालिका वडा नं १ का वडा अध्यक्ष तर्कसिंह ठगुन्नाको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल प्रमुख अतिथी रहेका थिए ।
स्वास्थ्यचौकीले अभियान अन्तर्गत सेवा क्षेत्रभित्रका सबै टोलमा पुगेर नसर्ने रोगको पहिचान कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्यचौकी प्रमुख भट्टराईले बताए ।