
बैतडी –बैतडीको सुर्नया गाउँपालिकामा१ हजार ५४ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाइएको छ ।
गाउँपालिकामा माघ २७ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन भएको अभियान अन्तर्गत १ हजार ५४ जना किशोरीहरुलाई एचपीभी खोप लगाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।
कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ बर्ष उमेर समूहका किशोरीहरुलाई खोप लगाइएको हो । सुर्नयामा कक्षा ६ देखि १० सम्म अध्ययनरत १ हजार ५३ जना छात्रा र विद्यालय बाहिर रहेकी एक किशोरी गरेर १ हजार ५४ जनालाई खोप लगाइएको उनले बताए ।
पालिकाभरी २७ ओटा खोपकेन्द्रमार्फत खोप अभियान सञ्चालन गरिएको थियो । उक्त अभियान अन्तर्गत वडा नं १ मा ६९ जना, वडा नं २ मा १ सय ६९ जना, वडा नं ३ मा ९७ जना, वडा नं ४ मा १६९, वडा नं ५ मा ८६ जना, वडा नं ६ मा १७७ जना, वडा नं ७ मा २०३ जना र वडा नं ८ मा ८४ जना किशोरीलाई खोप लगाइएको महराले बताए ।
पाठेघरको मुखको क्यान्सर हुन नदिनका लागि देशैभरी खोप अभियान सञ्चालनमा रहेको छ । सोही अभियान अन्तर्गत बैतडीका पालिकाहरुमा पनि अभियान सञ्चालन भएको हो । बैतडीका १० ओटै पालिकामा एचपीभी खोप अभियान सम्पन्न भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।