
बैतडी –राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका स्थानीय तहहरुको कार्यसम्पादन मूल्याकंनको नतिजा सार्वजनिक गरेको छ । विभिन्न १७ ओटा सूचकमा आधारित रहेर स्थानीय तहहरुको कार्यसम्पादन मूल्यांकन गरिएको आयोगले जनाएको छ ।
आयोगले प्रकाशन गरेको नतिजा अनुसार बैतडीका १० ओटा स्थानीय तहमध्ये पुर्चौंडी नगरपालिका ६२.५ प्रतिशत अंक ल्याएर पहिलो भएको छ । यस्तै ४६.२ प्रतिशत अंकसहित पञ्चेश्वर गाउँपालिका पुछारमा रहेको छ ।
आयोगले प्रकाशन गरेको कार्यसम्पादन मूल्यांकन नतिजा अनुसार पाटन नगरपालिकाले ६१.६ प्रतिशत, शिवनाथ गाउँपालिकाले ५९.८ प्रतिशत, दोगडाकेदार गाउँपालिका ५८.८ प्रतिशत, सुर्नया गाउँपालिकाले ५८ प्रतिशत र सिगास गाउँपालिकाले ५४ प्रतिशत अंक पाएको छ ।
यस्तै दशरथचन्द नगरपालिकाले ५२.३ प्रतिशत, मेलौली नगरपालिकाले ४९.५ प्रतिशत र डिलाशैनी गाउँपालिकाले ४६.९ प्रतिशत अंक प्राप्त गरेको छ ।
आयोगले विभिन्न सूचकहरु तय गरेर मूल्यांकन गरेको जनाएको छ । जसमा पालिकाहरूले २०८१ असार १० गतेभित्र आर्थिक वर्ष २०८१÷०८२ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा तथा नगरसभामा पेस गरे–नगरेको, गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को राजस्व र व्ययको अनुमान सम्बन्धित सभाबाट २०८१ असार मसान्तभित्र पारित गरे–नगरेको सूचक राखिएका छन् ।
यस्तै स्थानीय तहहरुले प्रदेश सरकारलाई दिनुपर्ने विभिन्न करबापतको रकम मासिक रुपमा प्रदेश सञ्चित कोषमा जमा गरे÷नगरेको, यस्तै चालु शैक्षिक सत्रमा कक्षा १ देखि ८ सम्मका विद्यार्थी भर्नादर, चार पटक गर्भजाँच गराउने आमाको संख्या, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी भएका आमाको संख्या, पूर्ण खोप पाएका बालबालिकाहरुको अनुपातलाई समेत आयोगले सूचक बनाएको छ ।