![बैतडीको नगराउँका चार घरमा चोरी](https://www.sagunkhabar.com/uploads/posts/Nagrau-final-1739536191.jpg)
बैतडी–बैतडीको डिलाशैनी गाउँपालिका–५ नगराउँका चार घरमा गएराति चोरी भएको छ । गाउँमा एकजनाको निधन भएपछि अन्य गाउँलेहरु उनको घरमा गएको मौका छोपी चोरी भएको डिलाशैनी गाउँपालिका वडा नं ५ का अध्यक्ष यज्ञराज भट्टले जानकारी दिए ।
नगराउँका काशी गिरी, हरेन्द्र जोशी, रामदत्त जोशी र धनीदत्त जोशीको घरबाट चोरी भएको वडा अध्यक्ष भट्टले बताए ।
चोरले काशी गिरीको घरमा रहेका कालिका मन्दिरका अन्दाजी १४ र ११ केजीका दुईओटा तामाका ताउली चोरेर लगेका छन् भने हरेन्द्र जोशीको घरबाट अन्दाजी ११ केजीको तामाको ताउली चोरी भएको छ ।
यस्तै रामदत्त जोशीको घरबाट दुईओटा तामाका गाग्री चोरी भएका छन् धनीदत्त जोशीको घरबाट अन्दाजी १३ केजीको तामाको ताउली चोरी भएको वडा अध्यक्ष भट्टले बताए ।
गाउँमा चोरी भएको बिषयमा गोकुलेश्वर प्रहरीचौकीलाई जानकारी गराइसकिएको भएपनि चोर पत्ता लाग्न सकेको छैन् ।
गाउँमा चोरीका घटना भइरहेकाले आवश्यक सतर्कता अपनाउन सबै टोलबासीहरुलाई आग्रह गरिएको वडा अध्यक्ष भट्टले बताए । यसका साथै चोरी गर्ने समूह तथा व्यक्तिको पहिचान भएमा नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा खबर गरिदिन समेत आग्रह गरिएको भट्टले बताए ।