
बैतडी – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश उत्कृष्ट देखिएको छ । प्रदेशतर्फ मधेस प्रदेश कमजोर देखिएको छ ।
आयोगका अनुसार सुदूरपश्चिमको ५१ दशमलव ६ अङ्क र मधेसको ३० अङ्क रहेको छ । कोशीले ५० दशमलव ९ , बाग्मतीले ४५ दशमलव ६, कर्णालीले ४१ दशमलव ६, गण्डकीले ४० दशमलव ८ र लुम्बिनीले ३५ दशमलव ९ अङ्क प्राप्त गरेका छन् ।
आयोगले प्रदेशहरूलाई विभिन्न १९ वटा सूचकका आधारमा कार्यसम्पादनको अङ्क दिने गर्छ । जसमा लेखापरीक्षण भएको रकम, कायम भएको बेरुजु, प्रदेशले पालिकालाई सशर्त अनुदान उपलब्ध गराए÷नगराएको अवस्था, गाडी करबापत रकम सम्बन्धित स्थानीय सरकारको सञ्चित कोषमा दाखिला गरे÷नगरेकोलगायत विषय छन् ।
यस्तै वार्षिक बजेट विनियोज तथा खर्चको स्थिति, पुँजीगत बजेट र त्यसको खर्च, राजस्व सङ्कलनको अवस्था, पालिकालाई उपलब्ध गराउने वित्तीय समानीकरण अनुदान, तोकिएको समयमा वार्षिक बजेट समीक्षा, प्रदेशको वायुको गुणस्तर, समुदायमा आधारित वन व्यवस्थापनलगायत सूचकका आधारमा मूल्याङ्कन गरिएको आयोगले जनाएको छ ।