
बैतडी –बैतडीको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मरराज जोशीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जोशीलाई बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको हो ।
गएको असोज १० गते पाटनमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका जोशीको चार महिनामै सरुवा भएको हो । मन्त्रालयले फागुन १ गते ५० जना उपसचिवको सरुवा गर्दै सोही सूचीमा जोशीलाई पनि सरुवा गरेको हो ।
नगरपालिकाका योजनाहरु कार्यान्वयनको चरणमा गइरहेका बेला प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपछि कामकाजमा समस्या हुने देखिएको छ । मन्त्रालयले स्थानीयस्तरको समस्या नबुझिकनै सरुवा गर्ने प्रवृतिले समस्या देखिएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताए ।
पाटनमा लामो समय प्रमुख प्रशासकीय अधिकृत टिक्नै मुस्कील हुने गरेको छ । एक आर्थिक बर्ष समेत पूरा नहुँदै प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुने गरेको छ । बेला–बेलामा प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुँदा नगरका कामकाजहरु लथालिङ्ग हुने गरेको नगर प्रमुख रावलले बताए ।
प्रमुख प्रशासकीय अधिकृत जोशीको सरुवा गरेको भएपनि मन्त्रालयले पाटनमा कसैलाई खटाएको छैन् । पाटनमा प्रमुख प्रशासकीय अधिकृत नखटाइ गरिएको सरुवाले नगरपालिकाका कामकाज प्रभावित हुने नगर प्रमुख रावलले बताए ।