
बैतडी –३३ बर्षसम्म शिक्षण पेशामा आवद्ध परमानन्द भट्टको बिदाई गरिएको छ । अनिवार्य अवकाशमा परेपछि शिक्षक भट्टको बिदाई गरिएको हो । पछिल्लो समयमा दशरथचन्द नगरपालिका–१ स्थित मणिलेक मावि गुरुखोलामा कार्यरत भट्टको शुक्रबार एक कार्यक्रमका बीच बिदाई गरिएको विद्यालयका प्रधाध्यापक केशवदत्त भट्टले बताए ।
२०४८ सालदेखि शिक्षण पेशामा आवद्ध भएका भट्टले ३ दशक बढी शिक्षा क्षेत्रमा योगदान पुर्याएका छन् । सरस्वती संस्कृत मावि नगतडीबाट शिक्षण सेवा शुरु गरेका भट्टले २०६० साल भदौ ५ गतेदेखि पुर्चौडी नगरपालिका–१ स्थित डिलेश्वरी मावि हाटमा सेवा गरेका थिए ।
२०६१ साल वैशाख २ गतेदेखि २०७५ साल चैत २७ गतेसम्म पाटन नगरपालिका–१ स्थित सिद्धेश्वर मावि मेल्चौरामा अध्यापन गराएका भट्ट २०७५ चैत २८ देखि मणिलेक मावि गुरुखोलामा कार्यरत रहेका थिए ।
अनिवार्य अवकाशमा परेपछि शुक्रबार शिक्षक भट्टको बिदाई गरिएको मणिलेक मावि गुरुखोलाकी शिक्षिका दुरा भट्टले बताइन् ।
विद्यालयले आयोजना गरेको बिदाई कार्यक्रममा शिक्षक भट्टले लामो समयसम्म शिक्षण पेशा गर्न पाउँदा आफूलाई निकै खुसी लागेको बताए । उनले भने, ‘शिक्षण पेशाका समयमा धेरै शिक्षक, विद्यार्थी र अभिभावकहरुसंग संगत गर्ने मौका मिल्यो । जीवनको उर्जावान समय यसै पेशामा बिताए । अरुलाई ज्ञान दिने पेशा शिक्षण भएकाले यो पेशाप्रति निकै समर्पित भए ।’
नेपाली र संस्कृत बिषय अध्यापन गराउँदै आएका शिक्षक भट्टले शिक्षण पेशा अरुको जीवनलाई सहीमार्गमा डोर्याउने पेशा भएको बताए ।
मणिलेक मावि गुरुखोलामा आयोजित बिदाई कार्यक्रममा शिक्षक भट्टलाई विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरुले सम्मानसहित मायाको चिनो दिएर बिदाई गरेका थिए ।