Sagun Khabar
त्रिपुरासुन्दरी मन्दिरमा नयाँ हिङलो राखियो 

बैतडी–बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरको प्रांगणमा नयाँ हिङलो अर्थात पिङ राखिएको छ । पुरानो हिङलो जीर्ण भएपछि मन्दिरमा नयाँ हिङलो राखिएको त्रिपुरा सुन्दरी धार्मिक सेवा समितिका अध्यक्ष गणेशसिंह थापाले बताए ।

करीब १६ महिना अगाडिदेखि मन्दिरमा हिङलो राख्ने कार्य शुरु गरिएको र अहिले आएर नयाँ हिङलो राख्न सफल भइएको उनले बताए । हिङलोका लागि आवश्यक पर्ने सालको काठ दार्चुलाको मालिकार्जुनबाट ल्याइएको थापाले बताए । 

Atrya hospital

मालिकार्जुनको सेल्फ्या र किम्तडको जंगलबाट हिङलोका लागि सालको काठ ल्याइएको थापाले बताए । ४३ फिट ३ इञ्चका सालका दुईओटा खम्बाहरु ल्याइएको उनले बताए । महाकाली नदीमा बगाएर ती खम्बाहरु ल्याइएको थापाले बताए । 

४३ फिट ३ इञ्चका सालका दुईओटा खम्बालाई ६ फिट जमीनमा गाडेर नयाँ हिङलो राखिएको थापाले बताए । करीब १७ बर्षपछि नयाँ हिङलो राखिएको हो । 

त्रिपुरासुन्दरीमा नयाँ हिङलो राख्नका लागि करीब ३ लाख रुपैयाँ खर्च भएको छ । उक्त रकम मन्दिरको कोषबाटै खर्च गरिएको अध्यक्ष थापाले बताए । नयाँ हिङलो राख्ने बेला मन्दिरकै कोषबाट खर्च गर्ने परम्परा अनुसार हिङलो राख्ने कार्यका लागि कोषबाटै खर्च गरिएको उनले बताए । 

मन्दिर प्रांगणमा राखिएको हिङलो भगवतीले रातिको समयमा खेल्ने गरेको धार्मिक विश्वास रही आएको छ । सोही विश्वास अनुसार पुरानो हिङलो जीर्ण भएपछि नयाँ हिङलो राखिएको हो । यसका साथै जात्राको समयमा धार्मिक पर्यटकहरुले पनि हिङलो खेल्ने गरेका छन् । थापाले भने, ‘धार्मिक मान्यता अनुसार माता भगवतीले पिङ खेल्नुहुन्छ । त्यसैले मन्दिरमा प्रांगणमा हिङलो राख्ने गरिएको छ । मन्दिर स्थापनाकालदेखि नै हिङलो राख्ने परम्परा रही आएको छ ।’

त्रिपुरासुन्दरी भगवती मन्दिर कहिले स्थापना भयो भन्ने एकीन जानकारी नभए पनि १३ औं शताब्दीतिर मन्दिर स्थापना भएको हुन सक्ने अनुमान गरिएको थापाले बताए । सोही बेलादेखि मन्दिर प्रांगणमा हिङलो राख्ने गरिएको उनले बताए । 

त्रिपुरासुन्दरी भगवती मन्दिरमा जात्रा तथा अन्य समयमा समेत धार्मिक पर्यटकहरु आउने भएकाले उनीहरुको सहजताका लागि समेत हिङलो राखिएको बताइएको छ । त्रिपुरासुन्दरीको दर्शनका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थीहरु समेत आउने गरेका छन् । 
 

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १५:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update