
बैतडी –प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट बैतडीमा हुने भएको छ ।
यही फागुन ११ गतेदेखि सुरू हुने प्रतियोगिताका खेलहरू बैतडीको दशरथचन्द नगरपालिका–५ सुन्दरखालीस्थित दशरथचन्द क्रिकेट मैदानमा खेलाइने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले बताए ।
आठ टोली सहभागी हुने प्रतियोगिताका खेलहरू प्लेट र एलाइट गरेर दुई चरणमा हुनेछन् । प्लेट च्याम्पियनसिपका खेलहरू फागुन ११ गतेदेखि सञ्चालन हुनेछन् भने एलाइट कप फागुन १४ गतेदेखि सञ्चालन हुने बताइएको छ ।
प्लेट च्याम्पियनसिपको उद्घाटन खेलमा फागुन ११ गते बझाङ र दार्चुला भिड्नेछन् । सोही दिन हुने अर्काे खेलमा डडेल्धुरा र डोटी खेल्नेछन् ।
फागुन १२ गते पहिलो खेलमा दार्चुला र डोटी भिड्दा दोस्रोमा डडेल्धुरा र बझाङ आमनेसामने हुनेछन् ।
फागुन १३ गते हुने पहिलो खेलमा दार्चुला र डडेल्धुरा प्रतिस्पर्धा गर्दा दोस्रोमा बझाङ र डोटीबीच भिडन्त हुनेछ ।
प्लेट च्याम्पियनसिपको च्याम्पियन टोली एलाइट कपका लागि छनौट हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीले जानकारी दिए ।
फागुन १४ गते हुने एलाइट कपको उद्घाटन खेलमा बैतडी र अछाम भिड्नेछन् । फागुन १५ गते प्लेट च्याम्पियन र अछाम,फागुन १६ गते बैतडी र प्लेट च्याम्पियन, फागुन १७ गते अछाम र कञ्चनपुर , फागुन १८ गते कञ्चनपुर र प्लेट च्याम्पियन ,फागुन १९ गते कैलाली र अछाम,फागुन २० गते प्लेट च्याम्पियन र कैलाली,फागुन २१ गते बैतडी र कञ्चनपुर,फागुन २२ गते कैलाली र कञ्चनपुर, फागुन २३ गते कैलाली र बैतडी खेल्नेछन् ।
फागुन २४ गते प्रतियोगिताको शिर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । प्रदेशस्तरीय छनौट प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली तयार गरिनेछ ।