Sagun Khabar
बैतडीमा १२ हजार ८२८ जना किशोरीले एचपीभी खोप लगाए 

बैतडी –बैतडीमा १२ हजार ८२८ जना किशोरीहरुले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाएका छन् । 

यही माघ २२ गतेदेखि फागुन १ गतेसम्म जिल्लामा सञ्चालन भएको अभियान अन्तर्गत १० ओटै पालिकाका खोप केन्द्रहरुमा किशोरीहरुले खोप लगाएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तिर्थराज भट्टले बताए । 

पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागि कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ बर्ष उमेर समूहका किशोरीहरुलाई खोप लगाइएको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए । 

Atrya hospital

अभियान अन्तर्गत दशरथचन्द नगरपालिकामा १ हजार ४७८, मेलौली नगरपालिकामा १ हजार १८३, पाटन नगरपालिकामा १ हजार ६०३ र पुर्चौंडी नगरपालिकामा २ हजार १५६ जना किशोरीहरुलाई एचपीभी खोप लगाइएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताए । 

यस्तै पञ्चेश्वर गाउँपालिकामा ९ सय ३५, शिवनाथ गाउँपालिकामा १ हजार, सुर्नया गाउँपालिकामा १ हजार ५४, सिगास गाउँपालिकामा १ हजार १६३, दोगडाकेदार गाउँपालिकामा १ हजार ६७ र डिलाशैनी गाउँपालिकामा १ हजार १८९ जना किशोरीहरुले खोप लगाएका सूचना अधिकारी लेखकले बताए । 

बैतडीमा १३ हजार ५६४ जना किशोरीहरुलाई खोप लगाउने लक्ष्य रहेकोमा लक्ष्यको ९५ प्रतिशतलाई खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

खोप अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्म पढाई हुने विद्यालय र स्वास्थ्यचौकीहरुलाई खोप केन्द्र तोकिएको थियो । 

पाठेघरको मुखमा हुने क्यान्सरको बिरामीको सङ्ख्या र ज्यान गुमाउनेको सङ्ख्या नेपालमा वर्षेनि बढ्दै गएको छ । महिलामा हुने क्यान्सरमध्ये नेपालमा यो पहिलो नम्बरमा र विश्वमा हुने क्यान्सरहरुमा यो चौथो स्थानमा छ ।
विश्व स्वास्थ्य सङ्गठनको सन् २०२० को तथ्याङ्कअनुसार यो क्यान्सर हरेक वर्ष पाँच लाख ७० हजार महिलालाई हुने र सन् २०३० सम्ममा सात लाखसम्म पुग्ने अनुमान गरिएको छ । त्यसैगरी हरेक वर्ष तीन लाख ११ हजार महिलाले यसैका कारण ज्यान गुमाउने  र सन् २०३० सम्ममा चार लाख पुग्ने अनुमान गरिएको छ ।

नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको ज्यान गइरहेको तथ्याङ्क छ । ‘ग्लोबल क्यान्सर अब्जरभेटरी २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार एक सय ६९ जना महिलामा यस्तो क्यान्सर हुने अनुमान गरिएको छ ।

हरेक वर्ष एक हजार तीन सय १३ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गुमाउने  र औसतमा प्रत्येक दिन चार जना महिलाको यो क्यान्सरबाट ज्यान जाने अनुमान छ । यो क्यान्सरबाट बचाउनका लागि देशैभरी खोप अभियान सञ्चालन गरिएको बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १९:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update