
बैतडी - मैलौली नगरपालिकाले आधारभूत तह (कक्षा १–८) को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । नगरपालिकाको शिक्षा शाखाले २०८१ सालको शैक्षिक क्यालेन्डरअनुसार वार्षिक परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।
नगरपालिकाको आधिकारिक सूचनाअनुसार परीक्षा २०८१ फागुन २५ गतेदेखि सुरु भई चैत ६ गतेसम्म सञ्चालन हुने छ। परीक्षा बिहान १०ः०० बजे सुरु हुने बताइएको छ ।
परीक्षा पहिलो दिन नेपाली विषयबाट सुरु हुनेछ । क्रमशः अंग्रेजी, सामाजिक शिक्षा, विज्ञान, गणित, स्वास्थ्य तथा शारीरिक शिक्षा, जीवन उपयोगी शिक्षा (संविधान तथा नागरिक शिक्षा) लगायतका विषयको परीक्षा हुने छ ।
कक्षा ८ का विद्यार्थीका लागि व्यावसायिक तथा प्राविधिक शिक्षा अन्तर्गत वाटर सप्लाई एन्ड स्यानिटरी इन्जिनियरिङ, वाटर रिसोर्स इन्जिनियरिङ, कन्स्ट्रक्सन टेक्नोलोजी एन्ड वर्कसप, कम्प्युटर एन्ड इन्जिनियरिङ ड्रइङ विषयको परीक्षा तालिका समेत सार्वजनिक गरिएको छ ।
नगरपालिकाले परीक्षालाई व्यवस्थित रूपमा सम्पन्न गर्न सबै विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकलाई आवश्यक तयारी गर्न आग्रह गरेको छ । परीक्षा सफल बनाउन विद्यालय प्रशासन तथा सम्बन्धित निकायहरूबीच समन्वय भइरहेको शिक्षा शाखाले जानकारी गराएको छ ।