Sagun Khabar
पाटन–८ मा पूर्ण खोप सुनिश्चितता घोषणाको तयारी तीव्र

बैतडी-बैतडीको पाटन नगरपालिका–८ स्थित सिद्धेश्वर स्वास्थ्य चौकीले पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने तयारी गरेको छ । यसैक्रममा, आइतबार वडास्तरीय खोप समन्वय समिति, महिला स्वास्थ्य स्वयंसेविका र सरोकारवालाका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरियो ।

स्वास्थ्यकर्मीहरूको टोलीले सोमबारदेखि घरधुरी सर्वेक्षण सुरु गर्नेछ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत ५९ महिनाभित्रका बालबालिकाले नियमित खोप पाएका छन् वा छैनन् भन्ने विषयमा विस्तृत अध्ययन गरिनेछ । स्वास्थ्य चौकीका सिनियर अहेब जयराज भट्टका अनुसार, अघिल्लो आर्थिक वर्षमा सो उमेर समूहका सबै बालबालिकाले खोप प्राप्त गरिसकेका छन् ।

Atrya hospital

पूर्ण खोप सुनिश्चितताको मानकअनुसार ९५ प्रतिशत बालबालिकाले खोप लगाएको हुनुपर्छ । वडा नं. ८ मा रहेका चारवटा खोप केन्द्रमार्फत लक्षित बालबालिकालाई नियमित खोप सेवा प्रदान गरिँदै आएको छ ।

यसैक्रममा, वडाध्यक्ष हरिश बिष्टको अध्यक्षतामा वडास्तरीय खोप समन्वय समितिको बैठक सम्पन्न भएको छ । बैठकमा खोप सर्वेक्षणलाई प्रभावकारी बनाउने निर्णय गर्दै विद्यालय भर्ना प्रक्रियामा खोप कार्ड अनिवार्य गर्ने व्यवस्था मिलाउने सहमति जुटाइएको छ ।

स्थानीय तहको सक्रियतासँगै पाटन–८ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गर्ने प्रयासलाई तीव्रता दिइएको छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update