
सुरेश अवस्थी– बैतडीको सुर्नया गाउँपालिका–४ डबराली टाककी २३ वर्षीया दिपा बोहरा महराको भिरबाट लडेर मृत्यु भएको खबरले सम्पूर्ण गाउँ शोकमग्न बनाएको छ । घरदेखि करिब दुई घण्टाको दूरीमा रहेको जयासिंया भिरमा घाँस काट्न गएकी दिपा कहिल्यै नफर्किने गरी बिलाइन् । पछाडि छोडिन् एक ८ महिनाको निर्दोष बालक, जो अब आमाको माया बिना हुर्कनुपर्नेछ ।
बैतडीका दुर्गम बस्तीका महिलाहरूको जीवन अझै पनि निकै कठिन छ । दैनिक गुजाराका लागि उनीहरूलाई बिहान सबेरै उठेर भिरपाखामा घाँस काट्न जानु अनिवार्य छ । खाना खाएर जाने समय हुँदैन, सँगै केही सानो खाजा बोकेर निस्कनु पर्छ । साँझ अबेरमात्र फर्कन पाउने यो दिनचर्या अधिकांश महिलाको जीवनशैली बनेको छ ।
सुर्नया गाउँपालिकाका महिलाहरू वर्षेनी ज्यान जोखिममा राखेर परिवारका लागि घाँस, दाउरा, र अन्य जङ्गली सामग्री संकलन गर्न बाध्य छन् । थुप्रै पटक यस्ता घटनाहरू भइरहे पनि यसको समाधानका लागि कुनै ठोस कदम चालिएको छैन ।
श्रीमानको वेदनाः बिरानो मुलुकमा परेको बज्रपात
श्रीमान् केशव सिंह महरा रोजगारीका लागि भारत गएका थिए । आफ्नै परिवारलाई पाल्नको लागि उनले विदेशिने निर्णय गरे । जन्मभूमिबाट टाढा, बिरानो मुलुकमा पसिना बगाउने उनले कहिल्यै सोचेका थिएनन् कि एकदिन यस्तै खबर सुन्नुपर्ला ।
घरबाट अचानक फोन आयो— ‘तपाईंकी श्रीमती अब रहिनन्।’ यो खबर सुन्नासाथ उनको हातखुट्टा काम्न थाल्यो । मनभित्र असह्य वेदना बल्झियो । हजारौँ माइल टाढा बसेर केही गर्न नसक्ने असहाय अवस्थाको पीडा उनले सहनुप¥यो ।
त्यो खबर पाएपछि उनले न निदाउन सके, न आफूलाई सम्हाल्न । रोजगारीको सिलसिलामा बाहिर गएका उनका लागि यो बज्रपातभन्दा कम थिएन । हिजो मात्रै फोनमा कुरा गरेका थिए, अब त्यो आवाज कहिल्यै नसुन्ने भए ।
८ महिनामै टुहुरो बनेको बालकको भविष्य
दिपाका ८ महिनाका छोरा, जो अहिले आमाको दूधमा निर्भर थिए, अब अचानक मातृस्नेहविहीन भए । आमाले माया गर्न नपाउने, बोकेर सुम्सुम्याउन नपाउने त्यो नाबालकको भविष्य के होला? एक बच्चाका लागि आमा केवल पालनपोषण गर्ने व्यक्ति मात्र होइनन्, उनी बालकको पहिलो गुरु, पहिलो सुरक्षा, र पहिलो स्नेहको प्रतीक हुन् । अब उनलाई कसले सुम्सुम्याउने? कसले सुताउने? दुधे बालकका लागि आमा नै संसार थिइन् ।
गाउँभरि शोकको बादल मडारिएको छ । दिपाको मृत्युले गाउँलेहरू स्तब्ध छन् । एउटी नवविवाहित महिला, जसले भर्खरै जीवन थालनी गरेकी थिइन्, अकालमै अस्ताउनुप¥यो ।
गाउँका महिलाहरूका आँखा रसाएका छन् । दिपाका साथीहरू, जो सँगै घाँस काट्न गएका थिए, अझै पनि त्यो दृश्य सम्झेर सिहरिन्छन् । उनकी आमा होस् या गाउँका बृद्धबृद्धा— सबैको मनमा चोट परेको छ । दिपाको घरमा निरन्तर रुवाबासी चलिरहेको छ ।
यस क्षेत्रमा भिरबाट लडेर महिलाहरूको ज्यान जाने क्रम रोकिएको छैन । घर चलाउने दायित्व उनीहरूकै काँधमा भए पनि, उनीहरूको सुरक्षाका लागि कुनै प्रभावकारी कदम चालिएको देखिँदैन । सरकारी स्तरबाट सुरक्षित घाँस–दाउरा संकलन क्षेत्रको व्यवस्था, वैकल्पिक पेशाको विकास, तथा आधुनिक प्रविधिको प्रयोगको अभावमा यस्ता घटनाहरू बारम्बार भइरहन्छन् ।
आज दिपाको मृत्यु भयो, भोलि को हुने हो, कसैलाई थाहा छैन । आखिर कहिलेसम्म महिलाहरूले ज्यानको बाजी लगाएर परिवार पाल्नुपर्ने? कहिलेसम्म ८ महिनामा आमाविहीन बालकहरू जन्मने? समाजका लागि यी गम्भीर प्रश्नहरू हुन् ।