
बैतडी–बैतडीको पाटन नगरपालिकामा विद्यालयस्तरीय वार्षिक परीक्षा आगामी चैत्र १० गतेदेखि सुरू हुने भएको छ। नगरपालिकाका सम्पूर्ण विद्यालयमा एकरूपता कायम गर्न कक्षा ४ देखि ९ सम्मका परीक्षा एकसाथ संचालन गर्ने निर्णय गरिएको छ । कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूको मूल्यांकन भने नियमित परीक्षणकै आधारमा गरिनेछ ।
नगरपालिकाको सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर ८ का वडा अध्यक्ष हरिश बिष्टका अनुसार, कक्षा ८ को नगरस्तरीय परीक्षा पनि सोही मितिदेखि सुरू हुनेछ । परीक्षा एकरूपता कायम गर्न यसअघि कार्यपालिकाबाट पारित गरिएको निर्णयअनुसार नै सबै कक्षाको परीक्षा एकैसाथ हुने भएको हो ।
नगरपालिकाभरका कक्षा ८ का विद्यार्थीहरूको परीक्षा नगरस्तरीय हुनेछ । गत वर्षझैँ यस वर्ष पनि “एक वडा, एक परीक्षा केन्द्र“ को नीति लागू गरिनेछ । वडा अध्यक्षको नेतृत्वमा गठन गरिने वडास्तरीय शिक्षा समितिले परीक्षा केन्द्र तोक्नेछ ।
यसैबीच, पाटन नगरपालिकाले आफ्ना मातहत रहेका विद्यालयहरूको लेखा परीक्षणका लागि नयाँ प्रक्रिया अपनाउने भएको छ । विद्यालयहरूको आर्थिक पारदर्शिता कायम गर्न घटाघटी प्रक्रिया अपनाई लेखा परीक्षक छनोट गरिने निर्णय गरिएको छ ।
सामाजिक विकास समिति संयोजक बिष्टका अनुसार, न्यूनतम शुल्कमा अधिकतम तीन जना लेखा परीक्षकको टोलीले विद्यालयहरूको लेखा परीक्षण गर्ने व्यवस्था मिलाइनेछ । यस निर्णयले विद्यालयहरूको आर्थिक बोझ कम हुने र पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ ।
नगरपालिकाले लिएको परीक्षा प्रणाली सुधार र लेखा परीक्षणको पारदर्शिता बढाउने यो निर्णयले विद्यालय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ । स्थानीय तहको सक्रियतामा लिइएको यस कदमले शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।