Sagun Khabar
बैतडीः धार्मिक र पर्यटकीय स्थलको अद्भुत संगम

सुरेश अवस्थी–बैतडी जिल्ला ऐतिहासिक, धार्मिक र प्राकृतिक रूपमा अत्यन्त महत्वपूर्ण गन्तव्य हो । यहाँका सांस्कृतिक सम्पदा, धार्मिक स्थलहरू र मनोरम दृश्यहरूले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएका छन् ।

नेपालका प्रमुख धार्मिक स्थलहरूमध्ये बैतडी एक महत्वपूर्ण केन्द्रका रूपमा चिनिन्छ । विशेषगरी, यहाँ रहेका सात बहिनी भगवतीमध्ये चार भगवतीका मन्दिरहरू धार्मिक आस्थाका प्रतीक हुन् । तीमध्ये त्रिपुरासुन्दरी मन्दिर (राणाशयनी भगवती) विशेष रूपमा प्रसिद्ध छ । पौराणिक कथाअनुसार त्रिपुरासुर दैत्यको वध गरी मानवता र देवताको रक्षा गरेको मानिने यो मन्दिर श्रद्धालुहरूको मुख्य गन्तव्य बनेको छ ।

Atrya hospital

त्यसैगरी, जगन्नाथ मन्दिर, रौला केदार, ग्वाल्लेक केदार, सिगासधुरा, निङ्गलाशैनी मन्दिर, मेलौली भगवती मन्दिर, दोगडा, बनारसी धाम, र पाताल भूमेश्वर जस्ता स्थलहरू धार्मिक पर्यटकहरूको लागि प्रमुख गन्तव्य हुन् । काठमाडौँ उपत्यकापछिको दोस्रो सर्वाधिक मन्दिर रहेको जिल्ला बैतडी हो, जसले धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

बैतडीको इतिहास पनि गौरवमय छ । यो जिल्ला नेपालको स्वतन्त्रता र संघर्षको एउटा महत्वपूर्ण केन्द्र रहेको छ । शहीद दशरथ चन्दको जन्मस्थान यहीं पर्दछ, जसले राणा शासनविरुद्ध आफ्नो जीवन बलिदान दिएका थिए । उनको जन्मघरलाई ऐतिहासिक स्थलका रूपमा संरक्षित गरिएको छ, जसले पर्यटकलाई प्रेरणा दिने काम गरिरहेको छ ।

बैतडीको भौगोलिक विविधता अत्यन्त आकर्षक छ । हरियाली पहाडहरू, स्वच्छ वातावरण, मनमोहक दृश्य र मनोरम प्राकृतिक भ्यूटावरहरूले यहाँको पर्यटन सम्भावनालाई अझ उजागर गरेको छ ।

बैतडीको अर्को आकर्षण महाकाली नदीमाथि रहेको २३६ वर्ष पुरानो झुलाघाट झोलुंगे पुल हो । ऐतिहासिक रूपमा महत्त्वपूर्ण यो पुल नेपाल–भारत सम्बन्धको एउटा प्रमुख सांस्कृतिक सम्पदा पनि हो ।

बैतडी धार्मिक, ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाले सम्पन्न जिल्ला हो । यहाँका प्रमुख धार्मिक स्थलहरू, पुरातात्त्विक संरचना, सांस्कृतिक पर्व र प्राकृतिक सौन्दर्यले पर्यटकलाई लोभ्याउँदै आएका छन् ।
 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update