Sagun Khabar
खगराज भट्टको राजनीतिक यात्रा : तीन पटकको पराजयपछि पहिलो जित, तर मुख्यमन्त्री बन्ने सपना अधुरै

बैतडी- माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ सालमा पहिलो संविधान सभा निर्वाचन सम्पन्न भयो। उक्त निर्वाचनमा नेकपा माओवादीका उम्मेदवारहरू धमाधम विजयी भए। तर, डडेल्धुराबाट माओवादी उम्मेदवार खगराज भट्ट पराजित हुन पुगे। उनले नेपाली कांग्रेसका शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए।

२०६४ को निर्वाचनमा भट्ट १,३६८ मतान्तरले पराजित भए। पहिलो पराजयलाई सहज रूपमा स्वीकार्दै उनले आगामी अवसरको पर्खाइमा बसे। २०७० सालमा पुनः संविधान सभा निर्वाचनमा उम्मेदवार बने। तर, देउवाले २३,९२० मत ल्याउँदा भट्ट १२,४९३ मतमा सीमित रहे। दोब्बर मतान्तरले पराजय भोगेपछि पनि उनले हार मान्न चाहेनन्।

२०७४ सालको निर्वाचनमा पनि उनले एमालेको समर्थन पाउँदै देउवासँग चुनावी प्रतिस्पर्धा गरे। तर, फेरि पनि ६,९२९ मतान्तरले हार बेहोर्नु पर्यो। उनको संसदीय यात्रा निरन्तर अवरुद्ध भइरह्यो। तर, २०७९ सालको निर्वाचनमा भने परिस्थितिले नयाँ मोड लियो। देउवाकै सहयोगमा उनले पहिलो पटक प्रदेश सभा सदस्यको टिकट पाए र निर्वाचित भए।

Atrya hospital

देउवाले नै उनलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका रूपमा अघि सारे। माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति देउवाबीच भट्टलाई मुख्यमन्त्री बनाउने सहमति समेत भएको चर्चा चल्यो। चुनावी प्रचारका क्रममा भट्टले पनि जनतासँग मुख्यमन्त्रीका रूपमा क्षेत्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।

तर, निर्वाचनपछि राजनीतिक समीकरण बदलियो। गठबन्धन सरकार टिक्न सकेन। कांग्रेस प्रतिपक्षमा गयो, माओवादी अन्य समीकरणमा अल्झियो। भट्ट मुख्यमन्त्री बन्ने आशामा भए पनि अन्ततः विना विभागीय मन्त्री मात्र बने। उनले पटक–पटक भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी लिन चाहेको बताए पनि त्यो अवसर नआयो।

परशुराम नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भट्टले आफ्नो राजनीतिक यात्राको समीक्षासमेत गरे। उनले मुख्यमन्त्री बन्ने आशामा प्रदेश सभामा उम्मेदवारी दिएको बताए। ‘मुख्यमन्त्री बन्ने अवसर नै नआउने थाहा भएको भए चुनावै नलड्ने थिएँ,’ उनले भने। उनले विकासका योजना प्रदेशमै ल्याउने उद्देश्य राखेर उम्मेदवारी दिएको तर गठबन्धन भत्किएपछि केही गर्न नसकेको दुखेसो पोखे।

भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठानसिंह बोहरा मन्त्री बनेको सन्दर्भ कोट्याउँदै उनले भने, ‘पठान जीले सबैभन्दा बढी बजेट भएको मन्त्रालय पाए। म चाहिँ मुख्यमन्त्री भइन्छ भनेर गएको मान्छे विना विभागीयमै रोकिएँ।’ उनले प्रदेश सरकारमा आफूले प्रभावकारी भूमिका खेल्न नपाएको गुनासो गरे।

दैजी–जोगबुढा सडक निर्माणमा ध्यान नदिइएकोप्रति असन्तुष्टि जनाउँदै भट्टले भने, ‘प्रधानमन्त्री भएर पनि देउवाले बनाउन नसकेको बाटो प्रदेश सरकारको माननीय भएर बनाउन सम्भव छ र?’ उनले आफ्नो भूमिका प्रभावकारी बनाउन जनताको साथ आवश्यक रहेको बताए।

उनले आफ्नो कामको समीक्षा जनताले गर्नुपर्ने बताए। ‘हामीले केही गर्न सकेनौं भने जनताले कान समातेर आदेश दिनुपर्छ, म टाउको झुकाएर त्यो आदेश मान्न तयार छु,’ उनले भने। सुदूरपश्चिमको राजनीति, विकास र आफ्नो भूमिकाको विषयमा पुनर्विचार गर्ने संकेत गर्दै भट्टले आगामी दिनमा अझ दृढ भएर काम गर्ने प्रतिबद्धता जनाए।

 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update