
गोविन्द पन्त - बैतडी : बैतडीको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीमा उपचार गर्न आउनेको घुइँचो हुन थालेको छ । जिल्लामा पछिल्लो समयमा आयुर्वेद औषधिमा नागरिकको आकर्षण बढ्दै गएपछि दैनिक २५ देखि ३० जना व्याक्ती उपचार गर्न आउने गरेकाले आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीमा उपचार गर्न आउनेको घुइँचो हुन थालेको हो । आर्थिक बर्ष २०८१-८२ को साउन देखि माघ महिनाको अन्तिमसम्म मात्रै आयुर्वेद स्वास्थ्य केन्द्र र नागरिक आरोग्य सेवा केन्द्र गरेर १२ हजार नागरिकले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीको तथ्यांकले देखाएको छ । आयुर्वेद औषधिको साइड इफेक्ट नहुने र स्वास्थ्यका लागि प्रभावकारी हुने भएकाले आयुर्वेद उपचार पद्दतिमा नागरिकको आकर्षण बढ्दै गएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका निमित्त प्रमुख हिक्मतबहादुर चन्दले बताए ।
बातब्याधी, अम्लपित्त लगायतका रोगहरुको निदानका लागि आयुर्वेदिक औषधि प्रभावकारी भएकाले बिरामीहरु उपचारका लागि औषधालयमा आउने गरेको बताइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीमा ल्याब सेवा समेत नि:शुल्क भएकाले उपचार गर्न आउनेको घुइँचो रहेको निमित्त प्रमुख चन्दले बताएका छन ।
बैतडी जिल्लामा पछिल्लो समय जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा मात्र नभएर आयुर्वेद औषधालयहरु बाट समेत सेवा लिनेको संख्या बढ्दै गएको देखिएको छ ।आयुर्वेद औषधिले अन्य असर नगर्ने भएकाले पनि स्वास्थ्यका लागि यो उपचार पद्धति राम्रो मानिएकाले नागरिकको आकर्षक बढदै गएको आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका निमित्त प्रमुख चन्दले बताए ।
जिल्लाका विभिन्न स्थानमा शिविर र क्लिनिक मार्फत पनि आयुर्वेद उपचार सेवा प्रदान हुँदै आएको छ । यस्तै दशरथचन्द नगरपालिका मातहथ रहेको आयुर्वेद औषधालय मुस्याचोरमा पनि आयुर्वेद पद्धतिबाट उपचार गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको मुस्याचोर आयुर्वेद औषधालयका प्रमुख राजेन्द्रकान्त दयालले बताए ।
आयुर्वेद उपचार पद्दति पुरानो उपचार पद्दति हो । यसको महत्वका बारेमा जानकारी हुन थालेपछि नागरिकको आकर्षण बढ्दै गएको बताइएको छ । औषधालयले विभिन्न स्थानमा सञ्चालन गरेका आयुर्वेद स्वास्थ्य शिविरमा समेत सेवा लिने नागरिकको संख्या बढ्दै गएको उहाँले बताउनु भएको छ ।