Sagun Khabar
पञ्चेश्वरमा अवरुद्ध विद्युतीकरण अभियानः अध्यक्ष चन्दको पहलकदमीमा कार्य अघि बढ्दै

बैतडी – पञ्चेश्वर गाउँपालिकामा लामो समयदेखि अवरुद्ध भएको विद्युतीकरण अभियान पुनः तिव्र गतिमा अघि बढ्ने भएको छ। विभिन्न प्राविधिक समस्याहरू, कोरोना महामारी, र ठेकेदार कम्पनीको लापरबाहीका कारण पछिल्लो केही वर्षदेखि सुस्त गतिमा अघि बढेको यो अभियानलाई पूरा गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रत्यक्ष निर्देशनमा काम पुनः सुरू हुने भएको छ।

गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दका अनुसार, मंगलबार मात्रै गाउँपालिकाको टोलीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेट गरी गहन छलफल गरेको थियो। छलफलपछि घिसिङले एक साताभित्रै काम अघि बढाउन निर्देशन दिएका छन्।

विद्युतीकरणको लागि आवश्यक प्रक्रिया अगाडि बढाइरहँदा, कोरोना महामारीका कारण लामो समय काम ठप्प भयो। त्यसपछि पहिलो ठेकेदार कम्पनीले मजदुरलाई पारिश्रमिक नदिएपछि परियोजना थप समस्यामा पर्‍यो। काम अलपत्र भएपछि दोस्रोपटक ठेक्का आह्वान गरियो, तर अहिलेसम्म पनि पूर्ण रूपमा कार्य सम्पन्न हुन सकेको छैन।

Atrya hospital

हाल वडा नं १, २, ३, र ४ मा आंशिक रूपमा बत्ती बलेपनि, अधिकांश ठाउँमा उपलब्ध सामग्रीहरू अलपत्र अवस्थामा छन्।  आवश्यक बजेट विनियोजन गरे पनि व्यवस्थापनको कमजोरी, ठेकेदारको लापरबाही, र समन्वय अभावका कारण विद्युत् विस्तारको काम अझै पनि अपूर्ण छ।

गाउँपालिकाले अबको केही साताभित्रै बाँकी रहेका संरचनाहरू निर्माण गरी विद्युत् विस्तार पूरा गर्ने प्रतिबद्धता जनाएको छ। अध्यक्ष चन्दका अनुसार, विद्युत् प्राधिकरण, ठेकेदार कम्पनी, र स्थानीय निकायहरूसँग पुनः सहकार्य गरी विद्युत् वितरण प्रणालीलाई चुस्त बनाइनेछ।

अब कुनै बहाना सुन्ने स्थिति छैन। कुलमान घिसिङ सरले पनि तत्काल काम अघि बढाउन निर्देशन दिइसक्नुभएको छ। अबको केही समयभित्रै हामी पञ्चेश्वरका सबै घरधुरीमा उज्यालो ल्याउनेछौं अध्यक्ष चन्दले भने।

स्थानीय बासिन्दाहरू भने वर्षौंदेखि कुरेर थाकिसकेका छन्। उपलब्ध बजेटका बावजुद अझै पनि सहरी क्षेत्रमा झैं पूर्ण रूपमा विद्युत् विस्तार गर्न नसकिएको गुनासो स्थानीयहरूको छ।

स्थानीय बासिन्दाहरूका घरै अगाडि ट्रान्सफर्मर राखिएको छ, पोलहरू छन्, तर अझै पनि बत्ती बाल्न सकिएको छैन ।   

गाउँपालिकाले अब दैनिक रूपमा विद्युतीकरण कार्यको अनुगमन गर्ने, ठेकेदारलाई कडाइका साथ निर्देशन दिने, र विद्युत् प्राधिकरणसँगको सहकार्य अझ प्रभावकारी बनाउने बताएको छ।

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update