Sagun Khabar
सडकका सिपाहीः अर्जुन लावडको संघर्षमय यात्रा

सुरेश अवस्थी–मेरा प्रश्नहरू सुनेर अर्जुन खिस्स हाँसे, तर अलिकति डराएझैं पनि देखिन्थे । “तपाईंले के पो लेख्नुहुन्छ र ? यसले मेरो जागीरमा असर त गर्दैन नि ?” उनले सोधे, म मुस्कुराएँ, “केही हुँदैन, तपाईंको कथा लेख्न मन लाग्यो ।”

बैतडी सतबाँझ–पाटन सडक खण्डमा यात्रा गरिरहँदा झाडु समाई सडक सफा गरिरहेका अर्जुन लावडलाई देख्दा बाईक रोकेर कुरा गर्न मन लाग्यो । सधैंजसो यस्ता लेन्थ वर्करहरू सडकको कुनामा देखिन्छन्, तर अर्जुनको अनुहारमा केही फरक भाव देखिन्थ्यो । उनको अनुहारमा संघर्षका असंख्य कथाहरू लुकेझैं लाग्थ्यो । जब म उनको नजिक गएँ, उनी एक छिन हिच्किचाए । मैले सोधेँ, “तपाईंको नाम के हो ? घर कहाँ हो ? कहिलेदेखि यो काम गर्दै हुनुहुन्छ ?”

अर्जुनको परिवारमा सात जना सदस्य छन् बूढा बाआमा, श्रीमती, ११ वर्षीय जेठो छोरा, ८ वर्षीया छोरी, र ३ वर्षीय कान्छो छोरा । उनीमाथि घरपरिवार मात्र होइन, दिवंगत काकाका छोरा–छोरीको जिम्मेवारी पनि छ । उनका काका १४–१५ वर्षसम्म यही काम गर्थे, तर उनी बितेपछि अर्जुनले त्यो ठाउँ सम्हालेका छन् ।

Atrya hospital

सडकका साना खाल्डाहरू पुर्ने, नाली सफा गर्ने, बाटोमा परेका रूखका हाँगा हटाउने जस्ता काममा उनको दिन बित्छ । बिहान ९ बजेबाट बेलुका ४–५ बजेसम्म उनको समय यही सडकमा खटिन्छ । अर्जुनको कार्यक्षेत्र ठाँडदेखि तल्लो अन्नाडी क्षेत्रसम्म फैलिएको छ । यो ३ किलोमिटर क्षेत्रको हेरचाह उनको जिम्मेवारी हो । उनीसँगै अरू चार जना लेन्थ वर्कर छन्, जसले १५ किलोमिटर लामो सडकलाई सफा र सुरक्षित बनाउने काम गर्छन् ।

अर्जुन यसरी सडकमा झाडु समाएर काम गर्नुअघि भारतका विभिन्न ठाउँमा १० वर्ष बिताएर आएका थिए । बिरानो मुलुकको नसोचेको संघर्षले उनलाई गाउँ फर्किन बाध्य बनायो । “विदेशमा स्वाभिमान जोगाउन सकिन्न, खुसी साट्न सकिन्न,” उनी भन्छन् । भारतमा उनी दिनरात खटिएर काम गर्थे, तर आफ्नो माटोको मायाले सधैं तानिरहन्थ्यो । विदेशमा बस्दा थुप्रै तिता अनुभव भए, तर ती अनुभवले उनलाई गाउँमै केही गर्ने सोच बनायो । जब काकाको मृत्यु भयो, अर्जुनले उनको जिम्मेवारी आफ्नो काँधमा लिए । “यो काम मैले रोजेको होइन, परिस्थितिले गरायो,” उनी भन्छन् ।

बिहानै घरबाट निस्कने बित्तिकै अर्जुन आफ्नो झाडु, बेल्चा, र अन्य औजार लिएर सडकमा निस्किन्छन् । केही बेरपछि उनी सडकको धूलोमा हराउँछन् । घाम लागेपछि नाली सफा गर्दा पसिना चुहिन थाल्छ । कहिलेकाहीँ गाडीहरू बाटोको धूलो उडाउँदै अगाडि बढ्छन्, र उनलाई ती गाडीहरू हेर्दै आश्चर्य लाग्छ—यी गाडीका मानिसहरूले कहिल्यै सोच्न सकेका होलान् कि कसैले यो सडकलाई सफा बनाइरहेको छ?

मध्याह्नसम्म उनले थुप्रै काम गरिसक्छन् नाली सफा गर्ने, सडकका ढुंगा हटाउने, साना खाल्डा पुरेर बाटोलाई सम्याउने । तर कहिलेकाहीँ सडकमा काम गर्दै गर्दा उनलाई मन खिन्न हुन्छ । “हाम्रो कामको मूल्य कति छ ? कोही धन्यवाद दिन आउँदैन,” उनी भन्छन् ।

अर्जुनको घरमा खेतबारी छ, तर उत्पादन निकै न्यून छ । “बाँदरले सबै खाइदिन्छ,” उनी भन्छन् । सिँचाइको सुविधा छैन, जग्गा थोरै छ, त्यसैले रोजगारी खोज्न बाहिर जानैपर्ने अवस्था छ । “देशमै काम गर्न पाएर गर्व लाग्छ, तर कमाइ पर्याप्त हुँदैन ।” उनको तलबले मात्रै घर खर्च चलाउन हम्मेहम्मे पर्छ ।

उनको ठूलो सपना छ—छोराछोरीलाई राम्रो विद्यालयमा पढाउने । उनी भन्छन्, “मैले जस्तो दुख नगर्न परोस्, उनीहरू ठूलो मान्छे बनून् ।” तर उनको वास्तविकता भने अलि कठोर छ । शिक्षा, स्वास्थ्य, र अन्य दैनिक आवश्यकताहरू पूरा गर्न निकै कठिन भइरहेको छ ।

सडकमा झाडु लगाउने, खाल्डा पुर्ने कामलाई धेरैले सस्तो नजरले हेर्छन् । अर्जुन भन्छन्, “धेरै मानिसले हाम्रो कामलाई सम्मान गर्दैनन् । कोही–कोही त हेपेर पनि बोल्छन् ।” तर उनी आफ्नो कामलाई सम्मान गर्छन् । “हाम्रो हातमा झाडु छ, तर हामी समाजका लागि आवश्यक छौं ।” उनले गर्वका साथ भने ।
समाजमा अझै पनि यस्तो सोच छ कि लेन्थ वर्करहरू कम महत्त्वका हुन्छन् । तर उनीहरू नै सडक सफा राख्ने, बाटो सुचारु गर्ने, यात्रुलाई सुरक्षित यात्रा गराउने मुख्य पात्र हुन् । अर्जुन भन्छन्, “हाम्रो कामको सही मूल्यांकन हुनु पर्छ ।”

अर्जुनका लागि हरेक दिन संघर्षको नयाँ कथा हो । बिहान उठ्ने बित्तिकै उनले सडकलाई सफा बनाउने जिम्मेवारी पूरा गर्न जानुपर्छ । उनलाई थाहा छ, यदि उनले आफ्नो काम राम्रोसँग गरेनन् भने गाडी दुर्घटना हुन सक्छ, यात्रा असहज हुन सक्छ । उनी भन्छन्, “कसैले हामीलाई नदेखे पनि, हाम्रो कामको प्रभाव सबैले महसुस गर्छन् ।”

अर्जुनजस्ता थुप्रै मजदुर छन्, जो दिनरात खटिन्छन्, तर उनीहरूको कथाले कहिल्यै ठाउँ पाउँदैन । अर्जुनलाई भेटेपछि मैले महसुस गरेँ—यी सडकका नायकहरूको संघर्षलाई उजागर गर्नुपर्छ । उनीहरू बिना सडक केवल ढुंगा, धूलो, र अव्यवस्थित संरचना मात्र हुनेछ ।

अर्जुन लावडको कथा सडकमा काम गर्ने हजारौं श्रमिकहरूको कथा हो । उनीहरूको योगदान बिना सफा, सुरक्षित, र सुन्दर सडकको परिकल्पना गर्न सकिन्न । उनीहरूले पाउने तलब पर्याप्त छैन, समाजबाट उचित सम्मान पाउँदैनन्, तर पनि उनीहरू आफ्नो काममा गर्व गर्छन् । अर्जुन भन्छन्, “देशमै काम गर्न पाउनु ठूलो कुरा हो । दुख छ, तर आफ्नै माटोमा संघर्ष गर्न पाउनुको मज्जा अर्कै छ ।”

हामीले कहिलेकाहीँ सोच्नुपर्छ—हामी हिँड्ने सडक सफा राख्न कोही त खटिइरहेका छन् । उनीहरूको संघर्ष बुझ्ने, उनीहरूलाई सम्मान गर्ने हाम्रो कर्तव्य हो । अर्जुनहरूलाई हामीले कहिलेसम्म बेवास्ता गर्ने ? कहिलेसम्म उनीहरूलाई ‘हेर्ने’ मात्र, तर ‘देख्ने’ छैनौं?
 

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update