
बैतडी– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको महत्वपूर्ण पहलबाट अब बैतडी जिल्लाको दशरथचन्द नगरपालिकाको वडा न. ४ देवतलाट स्थित सहस्त्रलिङ्ग मेला नेपालका राष्ट्रिय पञ्चाङ्गमा समावेश गरिएको छ। यस मेलाले ऐतिहासिक र धार्मिक महत्वलाई उजागर गर्दै स्थानीय समुदायका लागि विशेष महत्त्व राख्नेछ।
साउन महिनाको अन्तिम सोमबार आयोजना हुने सहस्त्रलिङ्ग मेला एक प्राचीन पर्व हो, जुन स्थानीय बासिन्दाहरूका लागि अत्यन्त श्रद्धा र सम्मानको पात्र रहँदै आएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका योगदान र समर्थकका लागि स्थानीय बासिन्दाहरूले धन्यवाद ज्ञापन गरेका छन्।
देवतलाटको सहस्त्रलिङ्ग मन्दिरमा प्रतिष्ठित शिवलिङ्गस्थित छ, जसमा १५ वटा साना लिङ्गका आकृतिहरू कुँदिएका छन्। यस शिवलिङ्गको आकार १.९० मिटर परिधिमा स्थापना गरिएको छ। यो भगवान शिवका १०८ नाम र स्वरूपको प्रतीक मानिन्छ। पाण्डवहरूले यस शिवलिङ्गको आसपास लिङ्गका आकृतिहरू कुँदेको भनी इतिहास पाइन्छ, जसले यस स्थानको धार्मिक महत्वलाई अझ बलियो बनाएको छ।
स्थानीय धार्मिक नेता गणेस पन्तका अनुसार यहाँको स्थानीय चाड अब राष्ट्रिय पञ्चाङ्गमा समावेश गरिएको छ। यसले हाम्रो सांस्कृतिक धरोहरलाई अझ विस्तार गर्न महत्त्वपूर्ण भुमिका खेल्ने छ।
राष्ट्रिय पञ्चाङ्गमा समावेश भएपछि सहस्त्रलिङ्ग मेलाले थप प्रचारप्रसार पाउने अपेक्षा गरिएको छ। यसले पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने मात्र नभई, धार्मिक तथा सांस्कृतिक पहिचानको संरक्षणलाई समेत बल पुर्याउनेछ। स्थानीय बासिन्दाहरूले यस निर्णयलाई ऐतिहासिक कोसेढुंगा भन्दै स्वागत गरेका छन्।