
बैतडी–७५औं प्रजातन्त्र दिवसको अवसरमा बैतडीमा सुख्खायाममा हुने आगलागी नियन्त्रणसम्बन्धी कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला प्रशासन कार्यालयको पहलमा सम्पन्न उक्त अभ्यासमा विपद् व्यवस्थापन समिति, सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारी, स्थानीय तहका प्रमुख तथा सुरक्षा निकायको सहभागिता रहेको थियो ।
प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार, सुख्खायाममा आगलागीको जोखिम बढ्ने भएकाले पूर्वतयारीका रूपमा आगलागी नियन्त्रण अभ्यास गरिएको हो । “प्रजातन्त्र दिवसका अवसरमा सबै कार्यालयहरूमा बिदा भएकाले सबै पक्षको सहभागितामा आगलागी नियन्त्रणका लागि ठोस योजना बनाइएको छ,“ उनले बताए।
यसअघि हिजो प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा दियो बाल्ने कार्यक्रम गरिएको थियो । आज भने दिवसलाई पृथक शैलीमा मनाउँदै सैनिक मञ्च टुँडिखेलमा आगलागी नियन्त्रणसम्बन्धी अभ्यास गरिएको हो ।
जगन्नाथ बहुमुखी क्याम्पसका प्राध्यापक पृथ्वीराज अवस्थीका अनुसार, प्रजातन्त्र भनेको जनताको शासन प्रणाली हो, जसमा नागरिकहरू प्रत्यक्ष वा आफ्ना निर्वाचित प्रतिनिधिमार्फत शासनसत्तामा सहभागी हुन्छन् । तर, पछिल्लो समय केही व्यक्ति तथा पक्षहरूले आफ्नो कर्तव्य बिर्सिंदै गएका छन्, जसले प्रजातान्त्रिक अभ्यास र पद्धतिलाई कमजोर पार्ने खतरा निम्त्याएको छ ।
उनका अनुसार, प्रजातन्त्र केवल सैद्धान्तिक होइन, व्यवहारिक रूपमा पनि लागू हुनुपर्ने हुन्छ । व्यक्तिगत स्वतन्त्रता, न्याय, शान्ति तथा समृद्धिको आधारका रूपमा प्रजातन्त्रले आम नागरिकको प्राथमिक चाहनालाई सम्बोधन गर्नुपर्छ ।
प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार, यस वर्ष बैतडीमा प्रजातन्त्र दिवस भिन्न शैलीमा मनाइएको छ । दिवसको अवसर पारेर सैन्य अभ्यास तथा विपद् व्यवस्थापन रणनीति तयार पार्दै आगलागी नियन्त्रणसम्बन्धी अभ्यास गरिएको छ ।
“प्रजातन्त्र केवल उत्सव मनाउने माध्यम मात्रै नभई समाजका समस्याहरू समाधान गर्ने अभ्यास पनि हो,“ उनले थपे ।
प्रजातन्त्र दिवसको अवसरमा गरिएको आगलागी नियन्त्रणसम्बन्धी कृत्रिम अभ्यास विपद् न्यूनीकरणको दिशामा सकारात्मक कदम भएको स्थानीय प्रशासनले जनाएको छ । यसले प्रजातन्त्रलाई व्यवहारिक बनाउँदै जनउत्तरदायी शासन प्रणालीलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ ।