
बैतडी–बैतडीको डिलासैनी गाउँपालिका–३ सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्र बहादुर खडायतको भिरबाट लडेर मृत्यु भएको छ।
दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलका खडायत बुधबार साँझ घरबाट कार्यालय फर्किने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका थिए। घाइते अवस्थामा उनलाई तत्काल गोकुलेश्वर अस्पताल पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिनुभयो।
हाल घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ। मृतक खडायतको शव गोकुलेश्वर अस्पतालमै राखिएको छ।
मिजासिलो स्वभावका प्रहरी हवल्दार खडायतको असामयिक निधनले सिंगो बारिल गाउँ शोकमग्न भएको स्थानीय करण खडायतले जानकारी दिनुभयो।
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१ ०९:१०
प्रतिक्रिया दिनुहोस्