Sagun Khabar
ऐतिहासिक अजयमेरुकोट उत्खनन सुरु, पुरातत्वविद्हरूको टोली सक्रिय

अजयमेरु, डडेल्धुरा – फागुन ८ - डडेल्धुराको ऐतिहासिक महत्त्व बोकेको अजयमेरुकोट उत्खनन कार्य तीव्र पारिएको छ । पुरातत्व विभागको टोली २३ दिनदेखि अनुसन्धानरत छ भने ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

अजयमेरुकोट १३औँ शताब्दीको उत्तरार्धमा कत्युरी राजवंशका सहस्त्रपाल र निरयदेव पालद्वारा स्थापना गरिएको मानिन्छ । कतिपय इतिहासकारका अनुसार राजा नागी मल्ल द्वारा निर्माण गरिएको पनि भनाइ छ । उत्खननमा भेटिएका शिलालेख, ताम्रपत्र र भग्नावशेषहरूले यो कत्युरी वंशकै दरबार रहेको पुष्टि गरेको पुरातत्वविद् भास्कर ज्ञवाली बताउँछन् ।

प्रारम्भिक उत्खनन विवरण अनुसार अजयमेरुकोटमा मण्डप केन्द्रमा, दायाँबायाँ देवल, बैठक कक्ष र विशिष्ट नाउला संरचना रहेको पाइएका छन् । उत्खननका क्रममा भग्नावशेषलाई ‘नम्बरिङ’ गर्ने काम भइरहेको छ ।

Atrya hospital

विशेषगरी ढुङ्गे देवल र नाउलाहरूमा कुँदिएका मूर्तिहरू प्राचीन वास्तुकला झल्काउँछन्। अजयमेरुकोट क्षेत्रभित्र दरबार, वीरखम्ब, कलात्मक सिलिङ, र राजाका बैठकस्थलहरू भेटिएका छन् ।

स्थानीयवासीका अनुसार दरबार सात तला अग्लो रहेको मानिन्छ । यहाँबाट उत्तराखण्डस्थित जगदम्बा भगवती मन्दिरमा जल चढाउने गरिन्थ्यो । राजाका घोडा बाँध्ने स्थानलाई ‘घोलिडाँस’ भनेर चिनिन्छ । साथै, गाड खोला नजिकै २५ वटा झ्यालसहितको सुरुङ समेत रहेको जनश्रुति छ ।

अजयमेरुकोटलाई ऐतिहासिक सम्पदाका रूपमा प्रवद्र्धन गर्न तीनै तहका सरकारहरूको सहकार्य आवश्यक रहेको सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का बताउनुहुन्छ । प्रदेश सरकार यस्ता संरक्षण परियोजनामा आवश्यक सहयोग गर्न तयार रहेको उहाँले उल्लेख गर्नुभयो ।

स्थानीय सरकारका तर्फबाट अजयमेरु गाउँपालिका अध्यक्ष उमेश भट्ट ले संघ र प्रदेश सरकारसँग थप बजेट माग गरिने बताउनुभयो ।

अजयमेरुकोट ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण क्षेत्र भएकाले यसलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रयास भइरहेको छ । पुरातत्व विभागले थप अनुसन्धान गरी यहाँका कलात्मक दरबार संरचना, देवल, नाउला र भग्नावशेषहरूको संरक्षण योजना अघि बढाउने तयारी गरेको छ ।

अजयमेरुकोटले डडेल्धुराको इतिहास, डोटेली सभ्यता र कत्युरी वंशको प्रभाव दर्शाउने महत्वपूर्ण सम्पदा भएकाले यसको संरक्षणमा थप लगानी आवश्यक देखिन्छ । ऐतिहासिक धरोहरको जगेर्ना गर्न स्थानीय, प्रदेश र संघीय सरकारको समन्वय अपरिहार्य रहेको विज्ञहरूले औंल्याएका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update