
बैतडी –बैतडीको दशरथचन्द नगरपालिका–१ स्थित महारुद्र बचत तथा ऋण सहकारी संस्थाले सहकारी शिक्षा अभियान थालेको छ । आफ्नो सेवा क्षेत्रभित्रका शेयर सदस्य तथा बालबचतकर्ताहरुलाई सहकारी शिक्षा सम्बन्धी जानकारी दिने गरिएको सहकारी संस्थाका अध्यक्ष विष्णुदत्त भट्टले बताए ।
सहकारी संस्थामा आवद्ध शेयर सदस्य र बालबचतकर्ताहरुका लागि तालिम सञ्चालन गरेर सहकारी शिक्षा दिइएको अध्यक्ष भट्टले बताए । पछिल्लो समयमा सहकारीहरु निष्क्रिय भइरहेका बेला महारुद्र बचत तथा ऋण सहकारी संस्थाले भने आफ्ना गतिविधिहरुलाई सक्रिय बनाएको छ ।
स्थानीयस्तरमा सहकारीको महत्व र नागरिकको बित्तिय क्षेत्रमा पहुँच पुर्याउन सहकारीले काम गरिरहेको महारुद्र बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक खेमराज भट्टले बताए । सहकारीमा आवद्ध नागरिकहरुलाई सहकारीको महत्वका बिषयमा जानकारी दिनका लागि बेलाबेलामा तालिमको आयोजना गर्ने गरिएको उनले बताए ।
यही फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर बालबचतकर्ताहरुका लागि सहकारी शिक्षा तालिम सञ्चालन गरेको संस्थाले माघ महिनामा शेयर सदस्यहरुलाई तालिम दिइएको थियो ।
सहकारी शिक्षा तालिमका माध्यमबाट सहकारीप्रति नागरिकको विश्वास बढाउँदै लैजाने र उनीहरुको सहभागितालाई विस्तार गर्ने योजना रहेको सहकारी संस्थाका अध्यक्ष भट्टले बताए । उनले भने,‘हामीले सहकारीलाई गरिब नागरिकहरुको बैंकको रुपमा सञ्चालन गरिरहेका छौं । उनीहरुको बचतलाई सदुपयोग गर्दै ग्रामीण क्षेत्रमै जिविकोपार्जनका क्रियाकलाप सञ्चालन गर्नेहरुलाई ऋण लगानी गरेका छौं ।’
२०५३ सालमा स्थापना भएको महारुद्र बचत तथा ऋण सहकारी संस्थासँग अहिले ३ सय ३० जना शेयर सदस्य रहेका छन् । १ सय ६८ बालबचत रहेको सहकारीमा १५ संस्थागत बचत रहेको व्यवस्थापक भट्टले बताए ।
सहकारी संस्थासंग करीब ९६ लाख रुपैयाँ कुल पूँजी रहेको व्यवस्थापक भट्टले बताए ।
सहकारीको कारोबारलाई व्यवस्थित र प्रविधिमैत्री बनाउन अघिल्ले बर्षदेखि सहकारी संस्थाले सफ्टवेयरमार्फत कारोबार गरिरहेको बताइएको छ । बचत, ऋण लगायतका बिषयमा शेयर सदस्यहरुलाई जानकारी दिन उनीहरुको मोबाइलमा एसएमएस पठाउने गरिएको व्यवस्थापक भट्टले बताए ।